लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओमसतियाका जनप्रतिनिधिहरुको सय दिन : काम कम, प्रचार बढी

tillotmacitynews - 2022 Sep 17 10:46 PM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज १। स्थानीय तहको निर्वाचन २०७९ पछि निर्वाचित भएर आएका स्थानीय तहका जनप्रतिनिधिहरुले कार्यकाल सुरु गरेको सय दिन बितिसकेको छ । स्थानीय तहको निर्वाचन पछि देशभरका पालिकाहरु जनअपेक्षित कामहरु गर्दै विकासको तीव्र गतिमा अगाडि बढिरहेका छन् । विभिन्न पालिकाहरुका नव निर्वाचित जनप्रतिनिधिहरु गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित भूतपूर्व जनप्रतिनिधिहरुले पाँच वर्षे कार्यकालमा गर्न नसकेका कार्यहरु सय दिन भित्रै गरी वाहवाहीको पात्र बनेका छन् । तर रुपन्देहीको ओमसतिया गाउँपालिकामा भने हालसम्म कुनै पनि उपलब्धि मुलक गतिविधि देखिएका छैनन् ।बैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिहरुको कार्यकाल भर्खरै सय दिन मात्र पुरा भएकोले मुल्याङ्कन गर्ने बेला भएको त भइसकेको छैन तर कतिपयको हुटहुटी देख्दा केही सकारात्मक लक्षण देखा परिरहेको बेला ओमसतियाको अवस्था हेर्दा दयनीय देखिन्छ । 


कार्यपालिकाभित्रै द्वन्द : 

६ वटा वडा रहेको ओमसतियामा गाउँपालिका उपाध्यक्ष सहित ४ जना वडा अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित छन् भने एक जना राष्ट्रिय प्रजातन्त्र पार्टी र एक जना नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । कार्यपालिका र गाउँ सभा दुवैमा कांग्रेस कै बहुमत छ । तर हरेक कुरामा कांग्रेसको बहुमत भएतापनि पालिकाबासीहरुको पक्षमा कुनै पनि गतिलो योजना बनाउन र ठोस निर्णय लिन सकेका छैनन् ।सुरुमै नीति तथा कार्यक्रम निर्माण र बजेट पास गर्नमा जनप्रतिनिधिहरु लामो समयसम्म अल्मलिएका थिए । जसले निर्वाचित जनप्रतिनिधिहरुमा कुनै भिजन नभएको र उनीहरुको कमजोरी झल्काउँछ । कांग्रेसको बहुमत भएको कार्यपालिका भित्रै द्वन्द हुँदा बजेटकै एजेण्डामा कैयौं पटकको कार्यपालिका बैठक पश्चात् मात्र बजेट पास भएको थियो । अहिले पनि कुनै योजनाहरु निर्णयको सन्दर्भमा जनप्रतिनिधिहरु एक अर्कालाई पहल नै नगरेको आरोपप्रत्यारोप मै रोमलिने गरेका छन् । कार्यपालिका भित्रको ठुलो द्वन्दपछि बजेट पास भएपश्चात् पनि खासै उपलब्धि भएको देखिदैन । 


एम्बुलेन्स सञ्चालनमा समस्या : 

ओमसतिया गाउँपालिकामा एउटा एम्बुलेन्स छ । २०७५ सालमा भगत सर्वजित प्रतिष्ठान नेपालले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको थियो । उक्त एम्बुलेन्सले सुरुवाती अवस्थामा प्रभावकारी तरिकाले ओमसतिया-६ स्थित छोटकीरामनगर स्वास्थ्य चौकीबाट सेवा दिँदै आएको थियो । तर पछिल्लो समय गाउँपालिकाले एम्बुलेन्स सञ्चालनको उचित व्यवस्थापन गर्न नसक्दा एम्बुलेन्स पुर्ण रुपमा सञ्चालन हुन सकेको छैन । एम्बुलेन्स चालकको पारिश्रमिक, एम्बुलेन्स मर्मत र एम्बुलेन्स सेवाको प्रचार प्रसार गर्न नसक्दा पालिकाबासीहरुले एम्बुलेन्स सेवा पाउन सकेका छैनन् । स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न गाउँपालिकाले थप एउटा एम्बुलेन्स खरिद गर्नको लागि चालु आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको छ । जुन पालिकाबासीहरुको लागि खुशीको विषय हो तर भएको एम्बुलेन्स संचालन गर्न नसक्नु आफैमा लज्जाको बिषय हो । पालिकामा स्वास्थ्यका लागि आवश्यक हरेक पूर्वाधारहरु उपलव्ध छन् । पालिकाभित्रै बर्थिङ सेन्टर छ । तर स्वास्थ्य सेवाहरुको प्रचार प्रसार हुन नसक्दा पालिकाबासीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् । नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो मात्रै बढी प्रचार प्रसार गर्ने गरेको बुद्धिजिवीहरुले आरोप लगाउने गरेका छन् । पालिकाभित्र काम कम प्रचार बढी हुने गरेको स्थानीयहरु बताउँछन् । 


कार्यपालिकाको बैठक र रमिता :

स्थानीय तहको निर्वाचन पछि नयाँ जनप्रतिनिधि आएको सय दिन बितिसक्दा कैयौं पटक कार्यपालिका बैठक भए । कार्यपालिका बैठक भित्र अनेक एजेण्डामा बहस हुन्छन् र सहमती भयौं भन्दै जनप्रतिनिधि बाहिरिन्छन् तर जब निर्णय प्रमाणीकरण गर्नु पर्ने हुन्छ तब जनप्रतिनिधि हस्ताक्षर नगरी एकाएक हराउन थाल्छन् । यस्तो गतिविधि सरासर जनतालाइ झुक्याउने र विकास विरोधि गतिविधि हुन् भन्नलाई कुनै संकोच मान्नु पर्दैन । 


संस्थागत संरचनाले सहजता :

अघिल्लो स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिहरु कुुहिरोको काग जस्ता थिए । निर्वाचन जितेको उत्साह त थियो, तर न बस्ने घर थियो, न काम गर्ने कानुन थियो । संविधानले उनीहरुलाई २२ वटा अधिकार छ भनेर दङ्ग पारिदिएको थियो । तर, काम सुरु गर्न स्थानीय तहको एउटा पनि कानुन थिएन । यसपटक त्यो अवस्था छैन । स्थानिय तह संचालन सम्बन्धि अधिकांश कानुन बनिसकेका छन् । ओमसतियामा पाँच वर्षको अवधिमा धेरै संस्थागत सुधार भएको छ । गाउँपालिकाको आफ्नै भौतिक संरचना छ । काम गर्ने कर्मचारी छन् । केही विषयमा अलमल भए स्थानीय तहसँग केही न केही संस्थागत स्मरणको रुपमा पाँच वर्षको अभिलेख छ ।


अघिल्लो कार्यकालमा काम गरेर विश्वास जितेका केही जनप्रतिनिधिहरु समेत दोहोरिएका छन् । तत्पश्चात् यी र यस्तै समस्यामा जनप्रतिनिधि अल्झिरहे विकास र समृद्धिमा ओमसतिया गाउँपालिका धेरै पछि रहने निश्चित छ । जननिर्वाचित जनप्रतिनिधि कुनै दल र व्यक्तिगत स्वार्थभन्दा माथि रहेर काम गर्न नसके जनताले सोच्ने अवस्था नआउला भन्न सकिँदैन त्यसैले समयमै सोचौँ, जनअपेक्षा अनुसार काम गरौं ।

कमेन्ट गर्नुहोस्