
तिलोत्तमा सिटी न्युज, भदौ ७ गते । लोभले लाभ लाभले बिलाप भने झैँ आफ्नै टिपर जलाएको आरोपमा प्रहरीले दाङबाट टिपरका चालक् र सहचालकलाई पक्राउ गरेको छ। पुरानो थोत्रो टिपरको साटो बिमा बापतको नया टिपर वा सो बापतको नगद पाइने आसामा आफैले आफ्नै टिपर जलाएको बयान टिपर चालकले दिएका छन् । बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा मगलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो । बिहान-बिहानै टिपरमा आगो लागेको देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे सोधपुछ गर्दा सुरुमा चालक चौधरीले चार पाँच जनाको अज्ञात समूहले टिपरमा आगो लगाएर भागेको बताएका थिए । तर सोही समयमा अन्य सवारी सधान निर्वाध रुपमा चलेको बेला टिपरमा मात्र कसरी आगजनी भयो भनेर प्रहरीले घटना शंकास्पद देखेपछि दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । ‘आगजनी गरिएको ट्रक दुईदिनदेखि मर्मतका लागि ग्यारेजमा राखिएको रहेछ’ उनले भने, ‘बिहानै बन्दकर्ताहरु सडकमा नभएको र अन्य सवारी साधान चलिरहेको देखेपछि घटना शंकास्पद मानेर अनुसन्धान सुरु गरेका थियौं । ’अनुसन्धानकै क्रममा बीमाको लोभमा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा चालक आफैंले आगजानी गरेको पुष्टि भएको प्रहरीले बताएको छ । बन्दको बाहना बनाएर बिमाको दाबी गर्न आफैंले गाडीमा आगो लगाएको खुलेको हो । डीएसपी राजनकुमार गौतमले गाडीका मालिकको पनि खोजी भइरहेको जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्