
तिलोत्तमा सिटी न्युज, साउन २७ गते २०७९। पर्वत मणिग्राम श्रेष्ठ परिवारको प्रस्तुतिमा नेपाली नेवारी परम्पराको संरक्षण गर्दै तिलोत्तमाको मणिग्राममा गाईजात्रा तथा लाखे प्रदर्शन गरिएको छ। नेवार समुदायका अग्रज तथा युवाहरु भेला भएर आफ्ना दिबंगत भएका परिवारको सम्झनामा गाइजात्रा तथा लाखेजात्रामा ढोल, झ्याम्टा बजाउँदै, नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै मणिग्राम बजारको परिक्रमा गरिएको समितिका एक सदस्य बिष्णु श्रेष्ठ पासाले बताए। जनैपूर्णिमा संगै परेको यसपालिको गाईजात्रा तथा लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो।
तिलोत्तमाको वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकको समेत सहभागिता रहेको सो प्रदर्शन वडाको १२ नम्बर चोक देखि शुरु भएको थियो। अघिल्लो बर्षहरु जस्तै यस बर्षपनि सो कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको समितिका बिष्णु श्रेष्ठ पासाले बताए।गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न हाँस्यव्यंगात्मक प्रदर्शन गर्दै हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले १ वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ । हाँस्यव्यंग्य, नाटक प्रदर्शन तथा लाखे नाच पनि गाईजात्राका दिन देखाइने गरिन्छ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ ।
यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतकका आत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने पुराणमा उल्लेख छ । दिवंगतका परिवारजनले उनिहरुको संझनामा क्वाँटी, स्याउ, नास्पाती, काक्रो आदी बाँड्ने गर्छन् । आफन्तको मृत्यु भएर सोकमा डुबेका परिवारजनलाई हसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रुपमा पनि यसलाई लिने गरिन्छ । काठमाडौंका तत्कालीन राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाइजात्राको चलन ल्याएको इतिहास छ ।
ललितपुरको पाटनसँगै अन्य शहर तथा काठमाडौंको बसन्तपुरसहितका स्थान र देशभरका नेवारी समुदयामा बिशेष गाईजात्रा मनाइन्छ । यस्तै भक्तपुरमा गाईजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङघिसी र माँक प्याखँ (बाँदर नाच) नाच देखाउने चलन पनि छ ।
कमेन्ट गर्नुहोस्