लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको किचलो नगरसभा

IMG

तिलोत्तमा सिटी न्युज, साउन १ गते २०७९ । अन्तत : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित बजेट नगरासभाको चौथो बैठकमा आइतबार पनि पास हुन सकेन । नगर प्रमुख रामकृष्ण खाँणले नगरसभामा गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेपछि नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नाराबाजी गरेका छन् । बैठकमा उपस्थित सदस्यहरुको संख्या पुग्दा पनि नगरप्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले नियोजित रुपमा बैठक स्थगित गरेको एमाले सम्बद्ध नगरसभा सदस्यको आरोप छ ।


बैठक सुरुहुनुभन्दा अघि नै आफ्ना ४८ जना नगर सदस्यहरु उपस्थित भएको र बैठक सुरु भएलगत्तै हाजिर गर्न माग्दा प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले हाजिर गर्न नदिएर उपस्थित संख्या नपुगेको भनि बैठक स्थगित गर्न सहज बनाएको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए । ‘हामी बैठक अघि नै उपस्थित थियौं, निर्धारित समय दिउसो १ बजे बैठकका लागि नगर प्रमुख मञ्चमा जानुभयो, त्यसपछि हाम्रा साथीहरुले हाजिर गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतसँग रजिष्टर माग्दा, अहिले मिल्दैन भन्दै दिनु भएन । सुरेन्द्र श्रीले भने, लगत्तै बैठकमा ४३ जनाको मात्रै उपस्थिती भएको भन्दै बैठक स्थगित भयो । त्यसपछि हामीले नियमापत्ति जनाएका हौं ।’ तिलोत्तमाको मणिग्राम स्थित बिश्राम बाटिकामा आयोजना गरिएको नगरसभामा स्थगित भएसँगै दिनभरि मणिग्राम तनाव ग्रस्ता देखियो। प्रमुख प्रशासकीय अधिकृत समेत नेपाली काँग्रेसको तर्फबाट निर्वाचित प्रतिनिधिहरुको बैठकमा उपस्थित भएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीको आरोप छ भने नगरप्रमुख रामकृष्ण खाँणले भोलि सारिएको नगरासभाको ब्रिफिंग गर्न प्रमुख प्रसासकिय अधिकृतलाई त्यहा आफुले बोलाएको बताएका छन्। 


त्यसो त नियोजित रुपमा बैठक स्थगित गराएको भन्दै एमालेका प्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध नाराबाजी संगै नगरपालिकाको कार्यकक्षमा समेत ताला लगाइदिएका छन्। उनीहरुले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको राजिनामा समेत माग गरेका छन् । शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी परिचालन गरिएको भन्दै त्यसको समेत ति पक्षले विरोध गरेका छन् ।


यसअघि असार ३१ गते बोलाइएको बैठकमा पनि गणपुर संख्या नपुगेको भन्दै नगर प्रमुख खाँणले बैठक स्थगित गरेका थिए । उक्त दिन सूचना टास गरी आजका लागि बैठक बोलाइएको भएपनि एजेण्डामै प्रवेश नगरी बैठक स्थगित भएको छ । यस विषयमा प्रतिक्रिया दिदै नगरप्रमुख  रामकृष्ण खाँणले आफु बिधि सम्मत गएर सभामा उपस्थित सबैको सम्मान गर्दै सभामा गणपुरक संख्या  नपुगेपछि स्थगित गरेको बताएका छन्।उनले संचारकर्मी संग प्रतिक्रिया दिदै नगरको अर्को सभा साउन २ गते दिउसो १ बजे बस्ने गरि सभा स्थगित गरिएको बताए।  

कमेन्ट गर्नुहोस्