
तिलोत्तमा सिटी न्युज, असार २८ गते २०७९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। विज्ञान विषय पढाउने शिक्षक केशव ढुंगानाले सोमबार सो कलेजमा अध्ययनरत एकजना छात्रालाई दुर्व्यवहार गरेका हुन् । पेटको समस्या भएपछि छात्रालाई डेरामा छाड्न गएका ढुंगानाले आफुलाई उचालेर चुम्बन गरेको पीडित छात्राले आफ्ना साथीहरुलाई बताएकी छन् । अगुवा विद्यार्थीहरुले सो घटना प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराएका छन् । तर, प्रिन्सिपलले सो घटना प्रहरीमा जानकारी नगराउन भन्दै छात्राका अभिभावकलाई रोक्न खोजेको सोही क्याम्पसमा बीए चौंथो वर्षमा अध्ययनरत एकजना विद्यार्थीले बताए ।
दुर्व्यवहार गरेपछि आफुले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एकजना अगुवा विद्यार्थीलाई गरेको मेसेज प्राप्त भएको छ । सोमबार दिउँसो २ बजेको सो घटनाबारे सूचना र उजुरी नआएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले बताए । उनले भने– ‘घटनाबारे उजुरी अथवा सूचना हामीकहाँ आएको छैन ।’प्रिन्सिपल पराजुलीले पीडितका बुवालाई बोलाएर ‘छोरीको इज्जत जान्छ’ भन्दै हल्ला नगर्न दबाव दिएको विद्यार्थीहरुले बताएका छन् ।
मैले यौन दुर्ब्यबहार गरेको छैन : शिक्षक
राममणी बहुमुखी क्याम्पसमा छात्रामाथि यौन दुर्व्यवहारको आरोप खेपेका शिक्षकले घटना झुटो भएको दाबी गरेका छन् । क्याम्पसमा अध्ययनरत एक छात्रालाई शिक्षक केशव ढुंगानाले उचालेर चुम्बन गरी यौन दुर्व्यवहार गरेको आरोप छ । उक्त आरोप आफूलाई फसाउनका लागि गरिएको भन्दै शिक्षक ढुंगानाले अस्विकार गरेका हुन् ।स्वास्थ्यमा समस्या आएपछि डेरामा छाड्न जाँदा आफूलाई विज्ञान शिक्षक केशव ढुंगानाले दुर्व्यवहार गरेको पीडित छात्राले आरोप लगाएकी छन् । आरोपित शिक्षकले भने मानवीय नाताले डेरामा छाड्न गएको स्वीकार गर्दै, त्यहाँ दुई मिनेट पनि नबसेको बताए ।
छात्रालाई उचालेर चुम्बन गरेको आरोप ‘अनर्गल’ भएको उनको दाबी छ । साेमबार असार २७ गते भएको भनिएको सो घटनाबारे आवश्यक कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज मँगलबार विहान क्याम्पसमा प्रदर्शन गरेका थिए । घटनामा संलग्न शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेपछि क्याम्पस प्रशासनले कारबाही अगाडी बढाउने आश्वासन दिएको एक विद्यार्थीले बताए । प्रिन्सिपल ताराप्रसाद पराजुलीले घटना के हो भन्ने बारे अनुसन्धानपछि मात्रै खुल्ने बताउँदै अन्य प्रतिक्रिया जनाउन चाहेनन् ।
कमेन्ट गर्नुहोस्