लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको वडा नं. १३ मा अटोभिलेज बनाउने एमालेको योजना

IMG

तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । नेकपा एमालेले तिलोत्तमा नगरपालिकाको वडा नं. १३ मा अटोभिलेज स्थापना गरिने जनाएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा पार्टीको नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा वडा नं. १३ को तिनाउ नदी उकास क्षेत्रमा अटोभिलेज स्थापना गरिने उल्लेख गरिएको छ। वडा नं. १४ को तिनाउ नदी उकास क्षेत्रमा प्रस्ताव गरिएको प्रादेशिक बस टर्मिनल नजिकैं अटो भिलेज स्थापना गरिने एमालेले जनाएको छ । अटो भिलेज निर्माणले स्थानीय स्तरमा रोजगारीका अवसर  सिर्जना गर्नुको साथै उद्यमशीलताको विकास समेत गर्नेछ ।


यस्तै एमालेले वडा नं. १० मा तिलोत्तमा औद्योगिक ग्रामलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत जनाएको छ । औद्योगिक ग्रामलाई निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालनमा ल्याइने एमालेका उम्मेदवारहरुले बताएका छन् । यसैगरी वडा नं. १४ मा प्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न भएकोमा आगामी एक वर्षभित्र सिटिइभिटीबाट सम्बन्धन ल्याइ सञ्चालन गरिने पनि एमालेले प्रतिबद्धता जनाएको छ ।प्रत्येक वडामा कम्तिमा एउटा पार्क बनाइने, तिनाउ तथा रोहिणी नदी किनारका शवदाह स्थलहरुलाई वातावरणमैत्री शवदाह गृहको रुपमा व्यवस्थित गरिने पनि एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ । तिनाउ, कानपारा, रोहिणी, सुखौरालगायतका नगरका विभिन्न ठाउँमा भइरहेको नदी कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण गरी आवश्यक रोकथामको व्यवस्था गरिने नगरपालिकाभित्र हुने डुबान क्षेत्रको पहिचान गरी यसको उपयुक्त समाधानका लागि अध्ययन गरी डुबान नियन्त्रणको समुचित व्यवस्था गरिने पनि एमालेले जनाएको छ ।


यसैबीच तिलोत्तमामा नेकपा एमालेका उम्मेदवारहरुले नगरबासीको सर्वोपरी हितमा काम गरी “समृद्ध नगर ः खुसी नगरबासी” को आकांक्षालाई पूरा गराउन आफूहरुलाई मत दिन तिलोत्तमाका मतदातासँग आग्रह गरेका छन् । सोमबार विभिन्न स्थानमा भएको घरदैलोको क्रममा उम्मेदवारहरुले पाँच वर्षमा एमालेका जनप्रतिनिधिहरुले उत्कृष्ट काम गरेको र ती कामलाई निरन्तरता दिई बाँकी काम पूरा गराउन आफूहरुलाई मत दिन मतदातालाई आग्रह गरेका हुन् ।एमाले उम्मेदवारहरुले बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवाअवस्थामा शीप, उद्यमशीलता र रोजगारी, जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण, महिलालाई समतामूलक अवसर सिर्जनामा आफ्ना नीति तथा कार्यक्रम र बजेट केन्द्रीत हुने स्पष्ट पारेका छन् । पाँच वर्षको अवधिमा नगरमा विकासको आधारशीला खडा भएको र अब त्यसकैं जगमा उभिएर नयाँ नयाँ काम गर्न सकिने उनीहरुको भनाइ छ । पाँच वर्षको अवधिमा शहरी पूर्वाधारका धेरै काम भएकोले अबको पाँच वर्ष शिक्षा, स्वास्थ्य, सामाजिक विकास, आर्थिक रुपमा पिछडिएको वर्ग समुदायको उत्थानको लागि थप काम गरिने उम्मेदवारहरुको प्रतिबद्धता छ ।

कमेन्ट गर्नुहोस्