
तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ मा गठबन्धन दलको तर्फबाट वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका नेपाली काँग्रेसका उम्मेदवार दिनमणी पंगेनीले शिक्षा, स्वास्थ्य, खानेपानी, अव्यवस्थित बसोबास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर चुनावी अभियानमा जुट्नु भएको छ । उहाँले वडामा दुई वटा सरकारी विद्यालय हुँदा हुँदैपनि सरकारी विद्यालयमै पढाउनको लागि वडा बाहिरका विद्यालयमा पठाउनु पर्ने अभिभावकको वाध्यताको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडामा रहेका ती विद्यालयमा गुणस्तरीय शिक्षा नहुँदा वडा बाहिरका विद्यालयमा वालबालिका पठाउन अभिभावक बाध्य छन्। त्यस्तै वडाका विभिन्न स्थानमा डुवानको समस्या छ । त्यसको समाधान गर्ने उहाँको प्रतिवद्धता छ । डुवानकै कारण सडक पनि प्रभावित छ । पाँच वर्ष भित्र सडकको स्तरबृद्धि गरी कालोपत्रे गर्ने उहाँको योजना छ । उद्योग व्यापार व्यवसायको लागि सहज वातावरण बनाउने पनि उहाँले बताउनु भयो । सख्खुई, सेमरा, दर्शनटोला, हरैयाहुँदै चम्कीपुर पर्सवाल क्षेत्रको विकासको लागि सडक, स्वास्थ्य र शिक्षासंग जोड्ने उहाँले बताउनु भयो । उहाँले सबैविकास एकसाथ हुन नसक्ने बताउँदै प्राथमिकताका आधारमा ५ वर्षभित्र आफूले गरेका प्रतिवद्धता पुरा गर्ने बताउनु भयो । उहाँले वार्डको समग्र विकासको लागि आफूलाई विजयी बनाउन वडाबासी मतदातासंग आग्रह गर्नुभयो ।
कमेन्ट गर्नुहोस्