लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मुस्लिम समुदायले ईदउल फित्र मनाउँदै, देशभर सार्वजनिक विदा

IMG

तिलोत्तमा सिटी, बैशाख २० गते २०७९ ।  आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । कोभिड महामारीका कारण प्रभावित बनेकाे ईद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउना लागेका हुन्  । समुहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन । याे वर्ष काेभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी ईद (इदुलफित्र) देश विदेशमा मनाइँदैछ ।  अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो ।


बचतको साढे दुई प्रतिशत दान

यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।


यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । ईदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।

भैरहवा क्षेत्रका मुस्लिम स्थानीय गल्लामण्डीको इदगाहमा बिहान साढे ८ वजे र बसडीलियामा रहेको इदगाहमा बिहान ९ बजे जम्मा भएर सामूहिक नमाज पढी मनाउँदै छन् । ईदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह  (नमाज पढ्न बनाइएको विशेष खुला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । सो पश्चात एकआपसमा गला मिलाएर इद मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्ने नमाजपछि ईदको विशेष परिकार सेवईका साथै अन्य मिठाइका परिकार र खानेकुरा खाएर शुभकामनासहित पाहुनालाई स्वागत गर्छन् । विपन्‍न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको प्रमुख विशेषता हो  । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।

कमेन्ट गर्नुहोस्