
तिलोत्तमा सिटी, २०७८ बैशाख ७ गते । पाल्पाको तिनाउ–१ कचलमा सुख्खा पहिरोमा परि बेपत्ता भएका पुरुष अझै फेला परेका छैनन् । कचलफाँट सिँचाई आयोजनाको नहरमा खसेको पहिरोमा पुरिएर मंगलबार स्थानीय अन्दाजी ५५ वर्षका डिलबहादुर हिस्की वेपत्ता भएको पाल्पा प्रहरीले जानकारी दिएको छ । नहरमाथिबाट खसेको सुख्खा पहिरोमा पुरिएर मँगलबार दिउँसोदेखि वेपत्ता भएका उनको खोजी कार्य जारी रहेपनि अझै नभेटिएको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।
डिलबहादुर सँगै गएका अन्य व्यक्तिहरु भने भागेर ज्यान बचाउन सफल भएपनि दिलबहादुरलाई भाग्दै गर्दा पहिरोले पुरेको थियो । डिलबहादुरको खोजीमा स्थानीय तथा नेपाल प्रहरीको टोलीले आज विहानैदेखि खोजतलास जारि राखेको छ । कचल फाँट सिँचाई आयोजना अन्तरगत नहर खन्ने क्रममा सोही ठाउँमा गत वर्ष जेसीबी समेत पुरिएको थियो । पुरिएको सो जेसिबी करिब १ वर्ष लगाएर निकालिएको स्थानीयले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्