
चैत्र ८ गते २०७८,तिलोत्तमा। अन्तराष्ट्रिय गुणस्तर प्रमाणित नगरको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका सुचिकृत भएको छ। देशभरमै पहिलो पटक तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एप्लिकेशन फ़ाउण्डेशन अमेरिकाद्वारा अन्तराष्ट्रिय गुणस्तर प्रमाणित प्राप्त गरेको हो।मंगलबार नगरपालिका परिसरमा भएको एक भब्य समारोहका बीच आइएसवो सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन्। नगरप्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न सो समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवि, पत्रकार तथा संचारकर्मीका बीच सो गुणस्तर प्रमाण-पत्र प्रदान गरिएको हो।
सो घोषणा कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिकाले विभिन्न मापदण्डमा रहेका सूचक पुरागर्ने लक्ष्य सहित अघि बढेर समयमै कार्यसम्पन्न गरि देशमै पहिलोपटक अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको बताउनुभयो।यस कार्यमा सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै नगरप्रमुख घिमिरेले ३ वर्षसम्म म्याद रहने सो गुणस्तरलाइ दिगोपन दिन सबै कर्मचारी जनप्रतिनिधि तथा नगरबासीहरुले समेत यसको गरिमा बचाई राख्नुपर्ने बताउनुभयो।
सो अवसरमा बोल्दै आइएसवो सर्टिफ़ाइड नेपालका म्यानेजर सुदिप शर्माले गुणस्तर मापदण्ड पुरा गरि नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो। उहाँले देशभरमा अन्य केहि पालिकाले समेत प्रक्रिया अगाडी बढाइरहेको सन्दर्भमा तिलोत्तमा नगरपालिकाले सो मापदण्ड सहित ३६ सूचक पुरागरि सो प्रमाणपत्र प्राप्त गरेको बताउनुभयो।
राजनीतिक दलको तर्फबाट नेकपा एमालेका जिल्ला सचिव यज्ञ गैरे, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष बेल प्रसाद शर्मा, नेपाली कांग्रेसका नगरसभापति हरिलाल पाण्डे लगायतले बोल्दै नगरपालिकाले एक पछि अर्को गर्दै प्राप्त गरेको सफलताले नगरबासीको शिर उच्च बनाएको बताउंदै बधाई तथा दिगोपनको लागी शुभकामना ब्यक्त गरेका थिए।सो भब्य समारोहमा नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली, नगर प्रबक्ता सुरेन्द्र श्री, वडा अध्यक्षहरु, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, पत्रकारहरुको उपस्थिति रहेको थियो।नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको स्वागत मन्तब्यबाट शुरु भएको सो घोषणा कार्यक्रमको संचालन सूचना प्रबिधि अधिकृत सुदिप ढकालले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्