लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कविता : नेपाली

IMG

     हरिप्रसाद भण्डारी  

 २०७८ फागुन २९ , तिलोत्तमा सिटी  ।

जन्मेको हुन्छ नेपाली भिजेर आफ्नै माटोमा

दुःख र सुख राष्ट्रको बोकेर आफ्नै छातीमा

अल्छी भै आफ्नो कर्तव्य भुलेर कैल्यै बस्दैनौँ

लोभ र लालच जालमा नेपाली हामी फस्दैनौँ।

विश्वका अग्ला हिमाल अम्बर चुम्न उठ्दैछन्

गण्डकी, कोशी, कर्णाली सागर भेट्न जुट्दैछन्

लाएर पर्खाल छेक्दैमा नदीको गति रुक्दैन

देखेर मोटा पाखुरा आस्थाको शिर झुक्दैन।

गुराँस फुल्छ अप्ठ्यारा पहरा–भीर फोरेर

संदेश दिन्छन् गौंथली चुच्चोमा माटो बोकेर

सानी र च्याण्टे मिलेर आस्थाको जग खन्दैछन्

स्वयम् आफ्नै खुट्टामा उभिनुपर्छ भन्दैछन्।

भिजेर आफ्नै माटोमा जन्मेको यौटा नेपाली

यै माटाको मायाम हुर्केको यौटा नेपाली

माटाको माया कहिल्यै बिर्सन उस्ले सक्दैन

सिर्जना फूल फुलाउँछ बाँधेर हात बस्दैन।

कमेन्ट गर्नुहोस्