लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाले बाड्यो ११९ श्रमिक महिलालाई साईकल :अन्तर्राष्ट्रिय महिला दिवस

IMG

तिलोत्तमा सिटी,फागुन २४ गते २०७८। ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्र कार्यरत ११९ जना महिला श्रमिकलाई साईकल बितरण गरेको छ।  मंगलबार नगरपालिका प्राङ्गणमा आयोजित ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समारोह तथा साईकल बितरण कार्यक्रमका बीच सो सामाग्री बितरण गरिएको हो। तिलोत्तमा नगरपालिकाको आयोजनामा नगरभित्र बस्ने र विभिन्न संघ संस्था, ग्रिल उद्योग, ड्रिल उद्योग, ग्यारेज, निर्माण कार्य, कम्पनीहरुमा कार्यरत हरेक वडाका ७ जनाका दरले ११९ जनालाई साईकल बितरण कार्य गरेको हो।  प्रतिनिधिमुलक ७ जनालाई साईकल हस्तान्तरण गरि शुरुवात गरिएको सो कार्यक्रम अन्तर्गत वडाले सिफारिस गरे बमोजिम अति बिपन्न, श्रमिक महिलालाई साईकल बितरण गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए।  


तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षता तथा नगरप्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा महिला अधिकारका बिषयमा सकारात्मक सोच सहितको उत्प्रेरित प्रस्तुति महिला अधिकार कर्मी तथा मिडिया पर्सन मिनाक्षी न्यौपाने र महिला अधिकार कर्मी सावित्रा घिमिरेले  समसामयिक विषयका सन्दर्भमा नगरका महिलाको अवस्था चित्रणका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। 


सो अवसरमा बोल्दै नगरप्रमुख बासुदेव घिमिरेले अन्तरक्रियामा उपस्थित महिलाहरुलाई हार्दिक आभार प्रकट गर्दै समाजमा हुने महिला हक अधिकार सुनिस्चित गर्न महिला र पुरुष मिलेर अघि बढ्नुपर्ने बताउनुभयो।  महिलाको समस्यालाई पुरुषले आफ्नै समस्या मान्दै समस्याको हाल गर्न एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।  उहाले साईकल बितरण कार्य हेर्दा सानो र सहज देखिएपनि समग्रमा यस कार्यले श्रमिक महिला जो बिपन्न छन् तिनीहरुको सारथि बन्ने बिश्वास लिनुभएको छ। 


सो समारोहमा बोल्दै नगर उपप्रमुख तथा कार्यक्रमका अध्यक्ष जागेश्वर देवी चौधरीले श्रमिक महिलाको साहस, हिम्मत, मेहनत र लगाव प्रति आफु सधै सहयोगको लागि प्रतिबद्ध रहेको बताउनुभयो।  नगर उपप्रमुख चौधरीले श्रमिक महिलाको मनोभावना र जिबन भोगाई अनुभवले आफुलाई भावुक बनाएको भन्दै समान ज्याला र समान अवसर प्राप्तिका लागि महिला अग्रसर हुनुपर्ने र काम लगाउने संस्थाले समेत यसप्रति जिम्मेबार भएर लाग्नुपर्ने बताउनुभयो।  


साईकल बितरण समारोहमा बोल्दै संयुक्त सिंचाई प्रणाली तथा करहिया मक्रहर खानेपानीका अध्यक्ष यज्ञ गैरेले महिलाको हक अधिकार सुनिस्चित गर्न आधा आकाश ओगटेका महिलालाई अवसर र समानतामा अघि बढाउन सबैको प्रयास आवश्यक रहेको बताउनुभयो।  त्यस्तै सो कार्यक्रमममा नगरपालिकाका कार्यपालिका सदस्य तथा नेकपा एमालेका नगर अध्यक्ष तामनाथ पाण्डेयले सबै राजनीतिक पार्टी तथा समाजका संघ संगठनले महिलाको अधिकार, उनीहरुको सामान्य अवस्थादेखि प्रगतिको पथमा लम्काउन सबैको प्रयास आवश्यक रहेको बताउनुभयो ।  त्यस्तै नेकपा माओबादी केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले श्रमिकहरुको अवस्था संगै झन् महिलाको अवस्था दर्दनाक भएकाले समाजमा महिलाल्लाई स्थापित गराउन सिप स्वरोजगार र अवसर को खाँचो भएको बताउनुभयो।  


कार्यक्रममा आफ्नो श्रम बारे आफु कार्यरत कामको अनुभव सुनाउदै तिलोत्तमा १ निवासी मनिषा पन्थी, तिलोत्तमा १२ निवासी दिपा रोका मगर, तिलोत्तमा ८ निवासी सुस्मिता सार्की , तिलोत्तमा ४ निवासी पुजा सुन्दास र तिलोत्तमा ७ निवासी सुस्मिता लामिछानेले हरेक संस्थाले महिला र पुरुषलाई समान ज्याला र समान ब्यबहार गर्नुपर्ने बताएका थिए। उनीहरुले महिलाले आफ्नो सिप दक्षता र अनुभवले सबैको मन जित्न सकिने बताउदै परिवारको पालनपोशणमा समेत महिलाले पुरुष जत्तिकै मेहनत र परिश्रमगरि अघि बढेको बताएका छन्।  


प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवालीको स्वागत मन्तब्यबाट शुरु सो कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरे , उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवाली, नगर प्रबक्ता सुरेन्द्र श्री, संघ संस्थाको तर्फबाट यज्ञ गैरे, नेकपा एमालेका तामानाथ पाण्डे, नेपाली कांग्रेसका सभापति हरिलाल पाण्डे,  नेकपा माओबादीका बेल प्रसाद शर्मा, जसपाका नगर अध्यक्ष राज्नेद्र यादव, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसाल,घरेलु तथा साना उद्योग महासंघका इश्वर कार्की , बाल संजाल तिलोत्तामाकी उपाध्यक्ष बिद्ध्या भुसाल, आनन्दबन शंकरनगर खानेपानीका केशव राज न्यौपाने, विभिन्न टोल बिकाश संस्था, आमा समुह, महिला अधिकार कर्मी, महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नगर प्रबक्ता सुरेन्द्र श्री र मोहन न्यौपानेले गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्