
तिलोत्तमा सिटी,फागुन २३ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक विषय अध्यापनको लागि सिटी कलेज सञ्चालन गर्ने तयारी गरे पनि सम्बन्धन प्राप्त नहुँदा ढिलाइ भएको छ । नगरपालिकाले सिटी कलेज सञ्चालन गर्न भवन तयार गरेको भए पनि सम्बन्धन प्राप्त नहुँदा कलेज सञ्चालनमा ढिलाइ भएको हो ।नगरपालिकाले सिटिइभिटीसँग स्वास्थ्यका तीन वर्षे डिप्लोमा विषयका कक्षा सञ्चालन गर्न सम्बन्धन माग गरेको छ । तर, अझैसम्म सम्बन्धन प्राप्त नभएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । नगरका जेहेन्दार, गरिव विद्यार्थीहरुको समेत प्राविधिक विषय अध्ययनमा पहुँच बढाउने उद्देश्यले नगरपालिकाले सिटी कलेजको अवधारणा ल्याएर भौतिक संरचना निर्माण गरेको हो ।
प्रारम्भिक चरणमा डिप्लो तहका कक्षा सञ्चालन गर्ने र क्रमशः स्नातक तहका कार्यक्रम पनि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले चालु शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्नेगरी भौतिक पूर्वाधार निर्माणको काम सके पनि सम्बन्धन प्राप्त नहुँदा यस वर्ष सम्भव नभएको नगर प्रमुख घिमिरेले बताउनुभयो । तिलोत्तमा नगरपालिकाले नगरको मेघा प्रोजेक्टका रुपमा तिलोत्तमा सिटी कलेज निर्माण गरेको हो ।नगरपालिकाले वडा नम्वर १४ खैरियामा दुई विगाहा परिसरमा सिटी कलेजको लागि भवन निर्माण गरेको हो । साविकको नर्मदेश्वर प्रावि रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधासम्पन्न ३ तले भवन निर्माण गरेको छ । ३ करोड ७७ लाख लागतमा भवन निर्माण भएपछि सुविधा सम्पन्न तरिकाले प्राविधिक शिक्षाका कक्षा सञ्चालन गर्न सहज हुने नगरपालिकाको बुझाइ छ । तर, सम्बन्धन प्राप्त नहुँदा नगरपालिकाले सोंचेअनुसार काम गर्न नसकेको वडाध्यक्ष सोहनप्रसाद चौधरीले बताउनुभयो ।
नगरपालिकाले सिटिइभिटीसँग सम्बन्धनको लागि फाइल सम्बन्धित निकायमा बुझाइ सकेको छ भने यो विषयमा धेरै पटक फ्लो गरिसकेको छ । स्वास्थ्य विषयका विभिन्न विषय पढाउने र विद्यार्थीहरुलाई नगरका स्वास्थ्य संस्था तथा खुल्ने तयारीमा रहेका नगर अस्पतालमा खटाउन सकिने नगरपालिकाको बुझाइ छ । तिलोत्तमामा १५ शैंयाका दुई वटा सिटी अस्पताल स्थापनाको लागि भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । अपुग हुने संरचना तथा भौतिक पूर्वाधार निर्माणको लागि आन्तरिक स्रोतबाटैं व्यवस्थापन गर्न सकिने भए पनि सम्बन्धन नपाउँदा सबै काम रोकिएको जनप्रतिनिधिहरु बताउँछन् ।
कमेन्ट गर्नुहोस्