लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वैदेशिक रोजगारका लागि १० महिनामा चार लाखले लिए श्रम स्वीकृति

IMG

२०७८ फागुन २०, तिलोत्तमा सिटी ।  २०७८ साल सुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा जान करिव चार लाख जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले २०७८ वैशाख देखि माघ मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको हो । वैदेशिक रोजगार विभागमा सूचना अधिकारी कृष्ण प्रसाद भूसालका अनुसार कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या पहिलेकै अवस्थामा पुगेको छ।  पछिल्लो १० महिनामा कूल ३ लाख ९७ हजार ६१३ जनाले विभागबाट श्रम स्वीकृति लिइसकेको उनले बताए । सो समयमा औषतमा प्रत्येक महिना ३९ हजार ७६१ जनाले श्रम स्वीकृति लिएको देखिन्छ ।


अहिलेकै गतिमा श्रम स्वीकृति लिनेको संख्या बाँकी दुई महिनामा पनि बढे यो वर्ष करिव पाँच लाख जना वैदेशिक रोजगारमा जाने देखिन्छ । ‘गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख १० हजारभन्दा बढी छ,’ सूचना अधिकृत भूसालले भने ।विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५ र माघमा ५४ हजार ४७० जनाले श्रम स्वीकृति लिएका छन् ।




कमेन्ट गर्नुहोस्