
तिलोत्तमा सिटी,माघ १५ गते २०७८। तिलोत्तमा नगरपालिकाको वडा नं. ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिकाको वडा नं. १७ हरिहरपुरलाई जोड्ने गरी तिनाउ नदीमा निर्माण हुन लागेको पुलको तिलोत्तमाका मेयर बासुदेव घिमिरेले स्थलगत अबलोकन गर्नुभएको छ ।सडक विभाग अन्तर्गत् ठेक्का भएको २० करोड ६४ लाख लागत रहेको दुई वर्षभित्र निर्माण सम्पन्न हुने सो पुलको लम्बाई दुई सय मिटर रहने छ । चार स्पान रहने सो पुल पाइल फाउण्डेशनको आधारमा निर्माण हुनेगरी डिजाइन गरिएको जनाइएको छ । प्रि-स्टेस ब्रिजको ११ मिटर चौडाईमा साढे ३ मिटर फुटपाथको लागि छुट्टाइएको छ ।
निर्माण शुरु गरि समयाबधि भित्रै निर्माण सम्पन्न गर्न नगरपालिकाका मेयर घिमिरेले निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभएको छ। सो पुल निर्माण पश्चात तिलोत्तमा र तिनाऊ पारीको उत्पादन बजारीकरण तथा ब्यबसाय एबम त्यस आसपासका नगर बासीहरुमा सहज बाताबरण बन्ने मेयर घिमिरेको भनाई छ। पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको पहलमा बन्न लागेको डिङ्गरनगर–हरिहरपुर तिनाउ नदी पुलको निर्माण कार्यले स्थानीय बासिन्दाको आवागमनमा ठूलो सहजता ल्याउने तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो । दूरीले नजिक भएर पनि पुल नहुँदा समस्या भोग्दै आएका बासिन्दाहरु पुलको निर्माणबाट सबैभन्दा लाभान्वित हुने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभएको छ। पुल निर्माणमा कुनै समस्या तथा सहयोगका लागी आफु हरदम तयार रहेको जानकारी गराउदै नगरप्रमुख घिमिरेले समयमै पुल निर्माण गरि नमुना विकासको खाका तयार गर्न निर्माण कम्पनीलाई सुझाउनुभयो।पुलको निर्माण कार्यको ठेक्का शर्मा-सगुन जेभीले प्राप्त गरेको छ ।
कमेन्ट गर्नुहोस्