
तिलोत्तमा सिटी,माघ १३ गते २०७८। तिलोत्तमा नगरपालिकाको वडा नं. ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिकाको वडा नं. १७ हरिहरपुरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त पुलको लागत २० करोड ६४ लाख रहेको छ । सडक विभाग अन्तर्गत् ठेक्का भएको उक्त पुल दुई सय मिटर लम्बाईको रहने छ ।चार स्पान रहने सो पुल पाइल फाउण्डेशनको आधारमा निर्माण हुनेगरी डिजाइन गरिएको जनाइएको छ ।
प्रि-स्टेस ब्रिजको ११ मिटर चौडाईमा साढे ३ मिटर फुटपाथको लागि छुट्टाइएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको पहलमा बन्न लागेको डिङ्गरनगर–हरिहरपुर तिनाउ नदी पुलको निर्माण कार्यले स्थानीय बासिन्दाको आवागमनमा ठूलो सहजता ल्याउने तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।तिनाउ नदीमा डिङ्गरनगर–हरिहरपुर जोड्ने गरी निर्माण हुने पुलबाट डिङ्गरनगर–हरिहरपुर जनतालाई धेरै सहज हुने तिलोत्तमा वडा नं. ४ का वडाध्यक्ष दिवाकर ढकालले बताउनुभयो । पुलको निर्माण कार्यको ठेक्का शर्मा—सगुन जेभीले प्राप्त गरेको छ । निर्माण कम्पनीका शुशिल बुढाथोकीले तोकिएको समयभन्दा अघि नैं पुलको निर्माण कार्य सक्नेगरी काम अघि बढाइएको बताउनुभयो ।
केही वर्षयता तिनाउ तथा दानव नदीमा एक पछि अर्को स्थानमा पुल निर्माण भैरहेका छन् । यी पुलहरुको निर्माणले समग्रमा रुपन्देहीबासी नै लाभान्वित भएका छन् । दूरीले नजिक भएर पनि पुल नहुँदा समस्या भोग्दै आएका बासिन्दाहरु पुलको निर्माणबाट सबैभन्दा लाभान्वित भएका छन् ।
कमेन्ट गर्नुहोस्