लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्यारा युवक - ६

tillotmacitynews - 2022 Jan 23 03:41 PM
IMG

२०७८ माघ ९, तिलोत्तमा सिटी।

हाम्रा नारीहरु पशु सरी बेचिए मुम्बईमा ।

शिक्षा रूपी नयन नहुँदा बाध्यता भो उनीमा ।

आँखा खोली किरण तिमिले चेतनाका फिँजार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


देखेका छौ सिरक नभको ओढ्दछन् बालबच्चा ।

हेरेकै छौ पथ सडकको जोड्दछन् वास कच्चा ।

खाते हेला किन हुन गए गर्नु पर्ला पियार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


भूमी जोत्ने कृषकहरुको साँझको गास छैन ।

बन्छन् उच्चा महल तर ती ज्यामिको वास छैन ।

टर्लान् यस्तै कति दिन अरू खून तिन्को चुसेर १

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


भारी बोक्छन् तरर पसिना नित्य झारी भरीया ।

फेरीदेउन् कसरि तिनले श्रीमतीको फरीया ।

फाटेको हो कमिज उनको जीर्ण दौरा परार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


भेटेका छौ कतिपय तिमी बाह्र वर्षे खलाँसी ।

भाँडा माझ्छन् कति त बिचरा ! नित्य खाएर बासी ।

तिन्को पढ्ने रहर मनमै जान्छ क्यारे मरेर ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


गिट्टी फोर्छन् अझ ति कलिला हातले वालवच्चा ।

पढ्ने लेख्ने तिनिसित कठै ! छैन होला र इच्छा ?

देखेका छौ युवक तिमिले खोइ वालाधिकार?

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


भ्रष्टाचारीहरु दिनदिनै देशमा बढ्न थाले ।

जूका जस्तै गरि मुलुकको दाममा गड्न थाले ।

छानी छानी अब युवक हो पूर खाल्डो खनेर ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


गुण्डागर्दीतिर प्रगति भो उन्नती भो डकैती ।

निर्धामाथि झन दमन भो च्यापिएछन् सबै ति ।

हिँड्छन् हाम्रा बुधजनहरू नैन नै चिम्लिएर ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


कमेन्ट गर्नुहोस्