लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा एक लाख जनाले लगाए कोरोना विरुद्धको खोप

IMG

तिलोत्तमा सिटी,२९ पौष २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ हजार ४ सय ६३ जनाले खोपको पूरा मात्र लगाइसकेको र बाँकीले खोपको पहिलो मात्रा लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तिलोत्तमामा १८ वर्षमाथिको लक्षित जनसंख्या ८० हजार रहेको अनुमान गरिएकोमा पूरा डोज खोप लगाएको जनसंख्या ८७ हजारभन्दा बढी पुगेको छ ।


बसाईसराई गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारीलगायतका विभिन्न अवसरका लागि अस्थायी रुपमा बस्ने बासिन्दाको कारण लक्षितभन्दा बढीले खोप लगाएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताउनुभयो । नगरपालिकाले गरेको घरधुरी सर्वेक्षणअनुसार नगरको जनसंख्या १ लाख २३ हजार ८ सय ३६ छ । यहाँ १२ वर्षभन्दा माथिको जनसंख्या झण्डै ९९ हजार रहेको अनुमान छ ।


स्वास्थ्य शाखाका अनुसार कोभिशिल्ड÷एक्सट्राजेनिक खोपको दुवै मात्र ८ हजार ९ सय ६० जना, जोनसोन खोप ७ हजार ६ सय १० जनाले लगाएका छन् । यस्तै भेरोसेलको दुवै डोज लगाउने संख्या ७० हजार ८ सय ९३ रहेको छ । १२ वर्षमाथि १८ वर्षसम्मका विद्यार्थीलाई लगाइएको मोडोर्ना खोपको पहिलो मात्रा झण्डै १० हजार जनाले लगाएका छन् भने यो खोप लगाउने क्रम जारी छ । रोजगारी वा अध्ययनको लागि तेस्रो मुलुक जानेहरुको लागि वडा नं. ५ को सहरी स्वास्थ्य केन्द्रमा हरेक हप्ताको सोमबार कोरोना विरुद्धको जोनसोन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।


नगरपालिकाले खोप लगाउन छुटेका लक्षित समूहका नगरबासीलाई मणिग्राम स्थित वडा नं. ५ को सहरी स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । अहिले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमा फैलिएको र यो विगतका भेरियन्टभन्दा बढी संक्रामक भएको विज्ञहरुले बताएका छन् । कोरोना भाइरसले खोप लगाएका भन्दा नलगाएका व्यक्तिलाई बढी प्रभावित बनाउने भएकोले खोपलाई  विशेष महत्व दिने गरिएको छ ।


नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी थालेको तिलोत्तमाले जनस्वास्थ्यका मापदण्ड अपनाउन,  घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, भीडभाड नगर्न सम्पूर्ण नगरबासीमा अनुरोध गरेको छ । केही दिनअघि बसेको तिलोत्तमा नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोनाको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्ने÷गराउने निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार केउलानीमा रहेको अस्थायी कोरोना अस्पताललाई थप स्तरोन्नती गरी स्वास्थ्यकर्मी लगायत आवश्यक उपकरण, स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गरिएको छ । यस्तै बुधबार विभिन्न सार्वजनिक स्थानहरुमा कोरोनाको नमूना संकलन तथा परीक्षण गरिएको छ ।

कमेन्ट गर्नुहोस्