लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईएमईले कोरियामा इन्जिनियरिङमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने

IMG

२०७८ पुष २९, तिलोत्तमा सिटी। आईएमई फाउन्डेसनले जीएमई कोरियाको सहकार्यमा कोरियामा रहेका जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकाेत्तर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएकाे छ । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ छात्रवृत्तिको आह्वान गरिएको आईएमई फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले पुस २८ गतेदेखि एक १० महिनाभित्र इच्छुक व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत विवरणसहित दरखास्त आह्वान गर्न आग्रह गरेकाे छ । याे छात्रवृत्ति दुई जनालाई प्रदान गरिने आईएमईले जनाएकाे छ । छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले रकम प्रदान गरिनेछ ।


छात्रवृत्ति आह्वानका लागि इमेलमार्फत आफ्नाे बायाेडाटा पठाउने सकिने छ । सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उत्तीर्ण जाेसुकैले पनि छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । कोरियामा अध्ययनमा रहँदा जीएमई कोरियामा सशूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आबद्ध हुन पाइने छ । कोरियामा स्नातकाेत्तर अध्ययन गर्ने छात्र/छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुन सक्ने आईएमईले जनाएकाे छ । 


रितपूर्वक प्राप्त हुन आएका आवेदकहरू मध्येबाट छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदान गरिने फाउन्डेसनले जनाएकाे छ । छनोटमा परेका छात्र/छात्राहरुले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयम् आफैँ लिनुपर्ने छ । पढाइमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने बताइएको छ ।छात्रवृत्तिसँग सम्बन्धित सङ्घ/संस्थाहरूबाट कम्तीमा एक/एक जनाको प्रतिनिधित्व हुने गरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिने र यस सम्बन्धी अन्तिम निर्णय त्यही समितिले गर्ने फाउण्डेशनले जनाएकाे छ । 



कमेन्ट गर्नुहोस्