लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाल्यकाल र बाबा

tillotmacitynews - 2021 Dec 29 12:51 PM
IMG

२०७८ पुस १४, तिलोत्तमा सिटी। 

हाँस्थेँ खेल्थेँ विगत दिनमा प्यार पाई रमाई

‘बाबा’ भन्दै अघिपछि भई हातखुट्टा समाई


कैलेकाहीँ छुनुमुनु गरी काँधमा चढ्न पुग्थेँ

त्यो बेलामा अबुझ मनले शक्तिशाली म हुन्थेँ ।


भाग्थेँ कैले झटपट उठी प्याट्ट हान्दा रिसाई

फर्की बस्थेँ उठबस गरी हार आफै म खाई


पैलेजस्तै लुटुपुटु भई चुप्प खान्थेँ हजार

छैनन् त्यस्ता दिन अब यहाँ, सम्झना बारबार ।


कस्तो मीठो सरस वयको प्रेमको बाल्यकाल

बाबा साम्ने दिनभर हुँदा हुन्नथ्यो क्यै बिहाल


आफ्नो मान्छे सबल तनको आडको स्तम्भ हुन्थ्यो

जोरीपारी वरपर हुँदा दम्भले जून छुन्थ्यो ।


क्वाप्पै खायो सुलुसुलु निल्यो काल कालो रमायो

पोल्यो छाती धुरुधुरु भएँ आँत मेरो कमायो


चिन्ता आयो अघिपछि गरी चैन मेरो हरायो

मर्नै पर्ने नियम भवको चेतनाले बुझायो ।


बुझ्दै जाँदा सबतिर उही, मर्नु केही गरेर

भन्दाभन्दै दिनहरु बिते बाबु आफै भएर


भोग्दै जाँदा कठिन अति भो बाबु बन्दा मलाई

ज्योत्स्ना छर्ने मइन भइने ज्यान आफ्नै जलाई ।

कमेन्ट गर्नुहोस्