लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पर्यटन मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको अध्यावधिक विवरण माग

IMG

२०७८ पुस १२, तिलोत्तमा सिटी।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको अध्यावधिक विवरण माग गरेको छ ।सरकारी नियकालाई नै आफ्नो सम्पत्ति कति छ भन्ने थाहा नहुँदा सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको भन्दै मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको हो ।मन्त्रालयले आफू मातहतका नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, विभिन्न विकास समिति, पर्यटन तथा पुरातत्व विभाग र संग्रहालयहरुलाई पत्र लेख्दै यस्तो विवरण पठाउन भनेको हो ।मन्त्रालयले पत्रमा भनेको छ, ‘हरेक निकायले आ–आफ्नो स्वामित्वमा रहेका जग्गा–जमिन, भवन र सवारी साधनको अध्यावधिक विवरण तयार गरी यस्तो सम्पत्तिको उपयोग र संरक्षण गर्नु जरुरी छ ।’


आफ्नो स्वामित्वमा रहेका जग्गा, भवन तथा सवारी साधनको लगत नराख्दा त्यसको उपयोग गर्ने, परिचालन र संरक्षणमा समेत समस्या भएको भन्दै मन्त्रालयले सबै निकायलाई सचेत गराएको हो ।कतिपय सार्वजनिक तथा सरकारी जग्गा–जमिन, भवन र सवारी साधन बेवारिसे अवस्थामा रहेको भन्दै यसबाट सरकारी सम्पत्तिको दुरुपयोग तथा अतिक्रमण समेत भएको मन्त्रालयको भनाइ छ । सरकारी सम्पत्तिको संरक्षण गर्ने कार्य सबै कर्मचारी र पदाधिकारीको कार्य सम्पादन मूल्यांकनसँग जोडिएको विषय भएको भन्दै मन्त्रालयले मातहतका निकायबाट विवरण माग गरेको हो ।


अब पर्यटन मन्त्रालय मातहतका ती निकायले आफ्नो स्वामित्वमा कति जग्गा छ, कति भवन छन्, सवारी साधन परिचालनको विवरण समेत संकलन गर्नु पर्ने भएको छ । सरकारी निकायले आफ्नो स्वामित्वमा रहेको जग्गा–जमिन, भवन र सरकारी साधनको खोजी गरी प्रोफाइल बनाउने र त्यसको अभिलेखीकरण गर्ने र संरक्षण तथा उपयोगको काम शुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको ८ पुसको सचिवस्तरीय निर्याय अनुसार यस्तो निर्देशन दिइएको हो ।

कमेन्ट गर्नुहोस्