लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशको बन्छ माटो

IMG

 २०७८ पुस ९, तिलोत्तमा सिटी। 

समथर जुन जग्गा अन्नभण्डार हुन्थ्यो

सबतिर घर बन्दा वेदनाग्रस्त बन्दो


धुरुधुरु किन रोयो? नेत्रमा देख्छु टाटो !

अब भन कसरी यो देशको बन्छ माटो??


अनवरत लडेका ती पहाडी किसान

अविरल झरि पर्दा मेटिँदै छन् निशाना !


सलल सलल बग्दा उर्वरायुक्त माटो

दिन दिन दिन रूखो देशको बन्छ माटो ॥


बुझ न जति विदेशी वस्तुमा मोह हुन्छ

खरिद गरिरहन्छौ देशको आत्म रुन्छ ।


टिमुरसित मकैको खान के हुन्छ आटो?

जब सहमत हुन्छौ देशको बन्छ माटो ॥


फलफुल, तरकारी, दूध, माछा र मासु

कृषक दिन नसक्दा प्युन पर्दै छ आँसू !!


सहज मुलुकभित्रै बन्दछन् किन्नु साटो

अब फलफुल रोपौँ देशको बन्छ माटो


चिजबिजहरु आफ्नै देशभित्रै बनेका

चलन गर चलेका चाड-संस्कार मान्दा ।


चलनहरू पुराना फेरिए खुल्छ बाटो !

असहमत भए के देशको बन्छ माटो??


युवक त परदेशी भै उतैतर्फ हल्ले !

जमिन छ अति धेरै काम गर्दैन जल्ले


श्रमजिवि जनताको खोस्रने छैन पाटो

यति विथिति सुधारे देशको बन्छ माटो ॥


दिनदिन झगडाको गन्ध आइरहेछ

समय मिलन होओस् भन्न चाहिरहेछ !


मनन गर छ इच्छा शत्रुको देख्न फाटो

मन मगज सुधारौँ देशको बन्छ माटो


मल-जल-पसिनाले सिञ्च यो भूमि भन्छ !

तन-मन-धन खर्चे देश यो स्वर्ग बन्छ !!


किन किन खुकुलो भो एकताबद्ध गाँठो?

अविरल कसिएमा देशको बन्छ माटो ॥

कमेन्ट गर्नुहोस्