लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्यारा युवक १

tillotmacitynews - 2021 Dec 21 02:32 PM
IMG

२०७८ पुस ६, तिलोत्तमा सिटी। 

 मेरा प्यारा युवक कलिलो छैन तिम्रो शरीर ।

अल्छी लागी ढिसमिस हुने हैन तिम्रो उमेर

फाली लाछीपन अब तिमी चित्तबृत्ती सुधार

मेरा प्यारा युवक ! बलिया, देशका कर्णधार ।।


छैनौ साना अब तिमि भयौ तन्नेरी हे किशोर ।

तिम्रा सारा अवयाव भए जोशिला हे किशोर ।।

आँखा चिम्ली नबन लहडी चर्म चक्षू उघार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


तिम्रो सानो मगज अब ता छैन है नौजवान ।

तीखो बुद्धी हुनु समयको माग हो नौजवान ।।

फालीदेऊ कुटिल मनका कल्पना हौ उदार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


तिम्रै आशा सकल दुनियाँ गर्छ, गर्ला भनेर ।

बाटो हेर्छन् नवकिरणको ज्योति छर्ला भनेर ।।

बाटो छोढी कुलततिरको भूल गल्ती सुधार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


छातीमाथी भुवनभरको भार धानेर लेऊ ।

साथीसाथी मिलि सुजनकै साथ छानेर लेऊ ।।

बाटो त्यागी कुलततिरको बानि तिम्ले सुधार ।।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


भक्ती थापा बनन रिपुको तोप फर्काइदेऊ ।

हाम्रा योद्धा अमरसिँह भै लोक थर्काइदेऊ

गर्जीगर्जी रिपुसँग सधै लड्न होऊ तयार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


छैनन् धन्दा सरल रितका काम क्यै पाइँदैन ।

तिम्रा हाम्रा सब दिन यसै वित्दछन् भै विकम्मा ।।

तोडीदेऊ गलत रिति यो कानुनी रूप फेर ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


हे नेपाली नवयुवक हो ! विन्ति यो मानिलेऊ ।

आँखा खोली मयल मनको झट्ट मिल्काइदेऊ ।।

चाँडो चाँडो गर नवयुवा देशलाई सुधार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार।।


हाम्रा अग्ला हिमशिखर भै देश चँम्काइदेऊ ।

द्युसो राती रवि शशि बनी ज्योति झल्काइदेऊ ।।

तारा जस्तै चमचम गरी तोडिद्यौ अन्धकार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार।।

कमेन्ट गर्नुहोस्