
२०७८ पुस ५, तिलोत्तमा सिटी। अमेरिकाका वरिष्ठ रोग विशेषज्ञले क्रिसमसमा हुने चहलपहलका कारण ओमिक्रोन भेरियन्टका संक्रमित थप बढ्न सक्ने चेतावनी दिएका छन् ।आइतबार राष्ट्रपति जो बाइडेनका प्रमुख स्वास्थ्य सल्लाहकार एवं संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसमा हुने चहलपहलबाट ओमिक्रोनका संक्रमित थप बढ्ने चेतावनी दिएका हुन् । तीव्र रुपमा ओमिक्रोन फैलिएको अवस्थामा अमेरिकाको स्वास्थ्य सेवामा गम्भीर असर पर्ने पनि उनको भनाइ थियो ।
‘ओमिक्रोनसँग फैलिने अस्वाभाविक क्षमता छ भन्ने कुरामा कुनै शंका छैन’, डा. फाउचीले भने । ‘यदि अहिले जस्तै अवस्था जारी रह्यो भने हाम्रा अस्पतालमा निकै चाप बढ्ने छ’, उनले थपे । उनले सबै अमेरिकीलाई मास्क प्रयोग, सामाजिक दूरी कायम गर्दै पूर्वसावधानी अपनाउन समेत आग्रह गरेका छन् ।पूर्ण खोप र बुस्टर डोज लगाउँदा संक्रमणको जोखिम कम हुने डा. फाउचीको भनाइ थियो । उनले यसअघि शुक्रबार ह्वाइट हाउसको प्रेस ब्रिफिङमा समेत खोप नलगाएका मानिसहरू गम्भीर संक्रमण र अस्पताल भर्नाको उच्च जोखिममा रहेको बताएका थिए ।
अमेरिकी सरकारलाई महामारीबारे सल्लाह दिँदै आएका डा. फाउचीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा विश्वभर फैलिएको पनि बताए । जाडो बढ्दै जाँदा ओमिक्रोन थप फैलिन सक्ने र केही हप्ता वा महिना कठिन हुन सक्ने उनको भनाइ थियो ।अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार हालका संक्रमितमध्ये झण्डै ३ प्रतिशत ओमिक्रोनका रहेका छन् । सीडीसीको पछिल्लो विवरणले न्यू योर्कमा ओमिक्रोनका संक्रमित सबैभन्दा बढी भएको देखाउँछ ।
कमेन्ट गर्नुहोस्