लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्यारा युवक -२

tillotmacitynews - 2021 Dec 08 01:48 PM
IMG

 २०७८ मङ्सिर २२ , तिलोत्तमा सिटी।

मेरा प्यारा युवक पथमा लम्क है लम्क लम्क

पर्ला राती तर सगरका जून भैँ चम्क चम्क ।।

डाँका आई धनजन लुटी भैरहेछन् फरार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


टाढाटाढा नजर गर लौ कुन्नि को आउँदैछ ।

केका लागी किन त्यसरि त्यो दृष्टि पो लाउँदैछ ?

आजैदेखी तिमि हुनु प¥यो हेर है होशियार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


हे तन्नेरी उठ न तिमिले साँधमा बाँध किल्ला ।

तिम्रै नाउँ जगतभर भै किर्ति चौपट्ट मिल्ला ।।

केही गर्दा तरुण ! विचमा विघ्न पर्छन् हजार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


कालो जालो सगरभरको वायुले भैm ँउडाऊ ।

आलोपालो गरि युग सधै सारथी भै उठाऊ ।

बैरी देख्दा नहट डरले ताक खुँडा कटार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


तिम्रो रातो रगत नसुकोस् तासको दास बन्दै ।

तिम्रो तातो रगत चिसिए हुन्छ रे काम बन्दै ।

भट्टी भट्टी अब नहिँड है लट्ठिनू हुन्न क्यार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


तिम्रा मुड्की अब हुनु सकून् वज्र जस्तै कठोर ।

एकै घुट्की जल हुन सकोस् अमृतै तुल्यको र !!

लड्दा लड्दै सहिद तिमिले बन्न होऊ तयार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


सिस्नो होऊ अरिकन तिमी पोल तिघ्रा घसारी ।

चुस्ने गर्छन् रगत पसिना खील जस्तै घुसारी ।।

घोक्र्याऊ लौ अब नवयुवा हुन्न यस्तो सहेर ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


बत्ती होऊ तिमिर तिमिले तोड छोडी प्रकाश ।

शक्ती आफ्नो प्रबल गर लौ बेश मौका यही छ ।।

हुन्छौ बूढो समय सकिँदै जान्छ क्यारे किशोर ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


तिम्रो छाती अब हुन सकोस् व्योम जस्तै फराक ।

तिम्रा आँखा अब हुन सकून् सल्किएका चिराक ।।

देख्दै बैरी थुरथुर भई भैसकून् लम्पसार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


बढ्दै जाऊ प्रगति पथमा लक्ष्य नौलो लिएर ।

चढ्दै जाऊ शिखर तिमिले आँट ठूलो लिएर ।

नेपालीको दिल छुन सधै होऊ है तम्तयार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

कमेन्ट गर्नुहोस्