लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा सरसफाईको ७८ औं श्रृंखलामा,नगरबासीहरु झनै सक्रिय

IMG

२०७८ मङ्सिर २,तिलोत्तमा सिटी । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान; ७८ औं श्रृंखलामा पुगेको छ ।कोभिड-१९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन्। तिलोत्तमाले पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ ।कोभिड—१९ को प्रभाव कम भएर जनजीवन सामान्य हुँदै जाँदा टोल विकास संस्थाहरु सरसफाईमा सक्रिय रुपमा जुट्न थालेको नगरपालिकाको वातावरण शाखाले जनाएको छ ।नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।



बुधबार तिलोत्तमाको वडा नं. १ को शिवटोलमा नगरस्तरीय सरसफाई गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्ष तामानाथ पाण्डेयलगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूहलगायतको सहभागितामा सरसफाई गरिएको हो । यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् । सरसफाई अभियन्ताहरुले सुर्ती, गुट्खालगायत प्लाष्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् । प्लाष्टिकजन्य फोहोरलाई जलाउँदा मानव स्वास्थ्यमा हानी पुग्ने भएकाले निर्धारित स्थानमा व्यवस्थापन गर्न उनीहरुको आग्रह छ ।


सरसफाई अभियानलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउँदै जथाभावी फोहोर गर्नेलाई कारवाही हुने स्पष्ट पारे । सबैको सामूहकि प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै उहाँले अभियानमा सहभागी हुने सबैलाई धन्यवाद व्यक्त गरे । सो अवसरमा उप–प्रमुख जागेश्वरी चौधरी, वडा नं. १ का वडाध्यक्ष तामानाथ पाण्डेयलगायतले सरसफाईमा स्थानीय समुदायको भूमिकाका बारेमा प्रकाश पारेका थिए ।

कमेन्ट गर्नुहोस्