
तिलोत्तमा सिटी , १ मङ्सिर २०७८। अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) कार्यान्वयन जटिल बन्दै गइरहेका बेला फेरि एक पटक चर्चामा आएको छ । यो परियोजनालाई कार्यान्वयन गर्ने समेतको विषयमा छलफल गर्न अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीन दिने भ्रमणका लागि आज नेपाल आउन लागेपछि एमसीसी पुन चर्चामा आएको हो । नेपालमा तीन दिनसम्म रहँदा लुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रलायले उल्लेख गरेको छ ।
लुले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ । सहायक विदेशमन्त्री लुको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, विभिन्न सहयोग आदान–प्रदान, एमसिसी सम्झौतालगायतका विषयमा छलफल हुने छ । एससिसी सम्झौता पास नहुँदा अमेरिका नेपालसँग असन्तुष्ट छ । यसअघि पनि एमसिसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणका क्रममा सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइलाई लिएर चासो व्यक्त गरेकी थिइन् । उनले सम्झौता नेपालकै भलाइको पक्षमा रहेको भन्दै चाँडो पास गर्न आग्रह पनि गरेकी थिइन् । उनले नेपालका शीर्ष नेतालाई भेट्दै यसबारे जानकारी लिएकी थिइन् ।
कमेन्ट गर्नुहोस्