
२७ कात्तिक,२०७८ तिलोत्तमा सिटी । अमेरिकी पप गायिका ब्रिट्नी स्पियर्समाथि १३ वर्षदेखि लागू हुँदै आएको बाबुको संरक्षकत्व समाप्त भएको छ ।संरक्षकत्व अन्त्य भएसँगै ब्रिट्नीले आफ्नो जीवनका विविधि पक्षमाथि एकल अधिकार जमाउनेछिन् । उनले आफ्नो जीवनका विभिन्न पक्षमाथि अंकुश लगाउँदै आएको संरक्षकत्वसम्बन्धी कानूनी प्रावधान अन्त्य भएको दिनलाई ‘सबैभन्दा उत्तम दिन’ समेत भनेकी छन् । ‘मलाई खुशीले रुन मन लागेको छ’, ब्रिट्नीले इन्स्टाग्राममा आफ्ना तीन करोड ५० फलोअर्सलाई भनेकी छन् ।शुक्रबार लस एन्जेलेसका एक न्यायाधीशले २००८ देखि लागू भएको ब्रिट्नीमाथि उनका बाबुको संरक्षकत्व अन्त्य भएको फैसला सुनाएकी छिन् । ध्यायाधीश ब्रेन्डा पेन्नीले उनको पक्षमा फैसला सुनाएको बीबीसीले जनाएको हो ।यसअघि उनका बाबु जेमीले संरक्षकत्व आवश्यक भएको बताएका थिए । तर छोरीले आफ्नो जीवन आफैंले सम्हाल्ने समय आएको भनेर उनी सहमत भएका थिए ।
संरक्षकत्व लागू भएपछि ब्रिट्नीको सम्पत्ति, पेशागत निर्णय, छोराहरूसँगको भेट र पुनर्विवाह जस्ता व्यक्तिगत विषयमा बाबुले हक जमाउँदै आएका थिए । तर ब्रिट्नीले बाबुको संरक्षकत्व दुर्व्यवहारपूर्ण भएको बताउँदै आएकी थिइन् ।कुनै व्यक्तिले आफ्नो जीवनबारे आफैंले निर्णय गर्न नसकेको अवस्थामा संरक्षक नियुक्त गरिन्छ । सन् २००८ मा ब्रिट्नीको मानसिक अवस्थालाई मध्यनजर गर्दै बुबालाई संरक्षक तोकिएको थियो ।ब्रिट्नीले जुन महीनामा अदालतसमक्ष आफू मानसिक रुपमा आघात भएको र दुर्व्यवहारपूर्ण संरक्षकत्व अन्त्य गर्न भनेकी थिइन् । अदालतसामु टाढैबाट आफ्नो बयान राखेकी उनले आफूलाई लागू औषध खुवाइएको, आफ्नो इच्छाविपरीत काम गर्न लगाइएको, विवाह गर्न र अरु छोराछोरी पाउन नदिएको बताएकी थिइन् ।ब्रिट्नीको बयानपछि उनका बाबु संरक्षकबाट हट्न तयार भएका थिए ।
कमेन्ट गर्नुहोस्