लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इजरायलको विद्युतीय युद्ध प्रणाली सार्वजनिक

IMG

२७ कात्तिक,२०७८ तिलोत्तमा सिटी ।  इजरायलले मिसाइल वा गोलीको साटो विद्युतीय किरण (बिम) पठाएर दुश्मनका निशाना ध्वस्त पार्ने नयाँ प्रतिरक्षा प्रणाली सार्वजनिक गरेको छ ।हालै सार्वजनिक गरिएको नयाँ प्रणालीले विशेष किरण (बिम) को प्रयोग गरी दुश्मनका निशानामाथि हमला गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । नयाँ प्रतिरक्षा प्रणालीलाई नवीन स्क्यानिङ प्रविधिका आधारमा विकास गरिएको हो ।इजरायलमा बिहीबार सार्वजनिक गरिएको विद्युतीय युद्ध प्रणालीले विशेष खाले किरण (बिम) मार्फत् दुश्मनका विभिन्न निशाना पत्ता लगाइ अवरुद्ध पार्न सक्ने आरटी डटकमले जनाएको छ ।विश्वकै पहिलो भनिएको र इजरायल एरोस्पेस इन्डष्ट्रिज (आईएआई)ले सार्वजनिक गरेको नयाँ विद्युतीय युद्ध प्रणालीको नाम ‘स्कोर्पिअस’ प्रणाली राखिएको छ । आईएआईका अनुसार स्कोर्पिअस प्रतिरक्षा प्रणालीले विद्युतीय किरणमार्फत् ड्रोन, पानीजहाज, रडार केन्द्रसहित जल, थल एवं वायु क्षेत्रबाट उत्पन्न हुने खतरासँग जुध्न सक्छ ।


स्कोर्पिअसमा प्रयोग हुने निकै सटिक तथा केन्द्रीकृत किरणले दुश्मनका युद्ध प्रणाली अवरुद्ध गर्न सक्ने, ठूलो क्षेत्र ओगट्न सक्ने र एकै पटक धेरै स्थानलाई निशाना बनाउन सक्ने समाचारमा जनाइएको छ ।स्कोर्पिअस प्रणालीअन्तर्गत थल, जल, वायु र तालिम गरी ४ वटा स्वरुप (भर्सन) उपलब्ध छन् । स्थलकेन्द्रित भर्सनमा गतिशील र अचल गरी २ प्रकार छन् ।इजरायली सेनाले उत्तरी क्षेत्रमा वृहत् बेलुनमा आधारित हवाई प्रतिरक्षा प्रणाली सुरु गरेको एक हप्तापछि विद्युतीय किरणमा आधारित नयाँ प्रतिरक्षा प्रणाली सार्वजनिक गरेको हो ।पछिल्ला वर्ष इजरायलले आफ्नो हवाई प्रतिरक्षा तथा रडार प्रविधिमा निकै ठूलो लगानी गर्दै आएको छ । इरानी ड्रोन र मिसाइलको बढ्दो विकास तथा भण्डारण र हमासबाट हुने रकेट तथा बेलुन आक्रमणबाट उत्पन्न खतराका कारण इजरायलले आफ्नो प्रतिरक्षा प्रणालीमा लगानी बढाइरहेको समाचारमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्