लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ट्राफिक लाइटले दुर्घटना न्यूनीकरण, अझै ३ स्थानमा जडान गर्दै तिलोत्तमा

IMG

तिलोत्तमा सिटी,१३  कार्तिक २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा ट्राफिक लाइटको सफल परीक्षणपछि नगरपालिकाले थप तीन स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको छ । तिलोत्तमाको ड्राइभरटोल भलवारी र कोटिहवामा ट्राफिक लाइट जडान कार्य सुरु गर्न लागिएको हो । यसबाट ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणका साथै नागरिकहरूमा चेतनास्तरको समेत विकास हुने नगर प्रमुख वासुदेव घिमिरेले बताए। ‘ट्राफिक लाइटले तीव्र गतिमा गुड्ने सवारी साधनलाई नियन्त्रण गरी दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरेका छौं’, उनले भने ।



तिलोत्तमाको मणिग्राममा गत जेठमा ट्राफिक लाइट जडान गरिएको छ । तिलोत्तमाले जडान गरेको उक्त ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो हो । तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएपछि नगरपालिकाले चालु आर्थिक वर्षमै थप बिस्तार गर्ने तयारी गरेको हो । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल–भैरहवा ब्यपारीक मार्गको अत्यधिक व्यस्त हुने क्षेत्रमा ट्राफिक लाइट जडानको लागि गत आर्थिक वर्षमा २० लाख बजेट छुट्ट्याएको थियो । सोही बजेटबाट पहिलो चरणमा मणिग्राममा जडान गरिएको थियो ।

  



चालु आर्थिक वर्षमा तीन ठाउँमा ट्राफिक लाइट जडानका लागि ४० लाख बजेट विनियोजन भएको नगरपालिकाका योजना प्रमुख प्रदीप बनले बताए ।  तिलोत्तमाले सुरु गरेपछि छिमेकी पालिका सिद्धार्थनगर नगरपालिकाले पनि दुई मुख्य चोकमा ट्राफिक लाइट राख्ने गरी बजेट छुट्ट्याएको छ । ट्राफिकलाइट स्थापनाका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन भएको र अब छिट्टै नै काम सुरु गरिने सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले बताइन् । नगरको मुख्यचोक बुद्धचोक र देवकोटा चोक गरी २ स्थानमा ट्राफिक लाइट जडानका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको उनले बताइन् ।


‘नगरमा यातायातको चाप बढ्दै गयो, बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य मार्ग बुद्धचोक, देवकोटा चोक पनि अति व्यस्त देखियो । त्यसैले ती दुई स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिकलाइट जडान गर्ने योजना बनाइ बजेटमै राखिएको छ’, काफ्लेले भने ।नेपाल–भारतको सबैभन्दा ठूलो स्थल मार्गसमेत भएकाले भारततर्फबाट धेरै सवारी साधन आउने हुँदा सिद्धार्थ राजमार्गको बेलहिया–बुटवल सडकखण्डअन्तर्गत सिद्धार्थनगर (भैरहवा) का देवकोटा चोक, बुद्ध चोक अति व्यस्त हुने गरेका छन् ।

कमेन्ट गर्नुहोस्