
तिलोत्तमा सिटी,२७ असोज २०७८। लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ बजारमा आएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा शनिबार अभिनेत्री गौरी मल्ल, लेखक तथा पत्रकार अश्विनी कोइराला, लेखक आचार्य र पाठक कुशल घिमिरेले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।यसअघि आचार्यको ‘अप्रिल फुल’ नामक उपन्यास प्रकाशित छ ।‘ब्लु डायरी’ विमोचन कार्यक्रममा अभिनेत्री मल्लले आफूले पुस्तकको पात्रका रुपमा आफूलाई अनुभूत गरेको बताउँदै यो पुस्तक हरेकको जीवनसँग मेल खाने खालको रहेको बताइन् ।भनिन्, ‘मैले मेरो जीवनमा धेरै पुस्तक पढेकी छु । मैले पढेकामध्ये यो पुस्तकले मलाई निकै भाबुक बनायो । यसको सुन्दर कथाले पक्कै सबैको मन जित्न सफल हुनेछ ।’ उनले सबैलाई एकपटक यो पुस्तक पढेर जीवनबारे बुझ्नसमेत आग्रह गरिन् ।
लेखक कोइरालाले पुस्तक निकै फरक सन्दर्भ र सरल भाषा–शैलीमा लेखिएको हुनाले सबै पाठकको मन जित्न सफल हुने बताए । भने, ‘पुस्तकमा समाज, प्रेम र जीवन छ । पढ्दा आनन्द आउने त छदै छ, जीवनमा कुनै न कुनै प्रभाव पनि पक्कै छाड्नेछ ।’लेखक आचार्यले आफूले यो पुस्तकबाट धेरै अपेक्षा गरेको बताउँदै मन परे ताली र मन नपरे गाली गर्न पाठकलाई आग्रह गरे । भने, ‘मलाई आफ्नो पुस्तक प्रिय छ, अब यो तपाईंहरुको पनि प्रिय बन्नेछ भन्ने अपेक्षा छ ।’पाठक घिमिरेले पुस्तक युवा पुस्ताले पढ्नै पर्ने खालको रहेको बताउँदै भने, ‘हाम्रो जीवन बुझ्न र जीवनलाई सहि तरिकाले बाँच्न पुस्तकले सिकाउँछ ।’बिएन पुस्तकले बजारमा ल्याएको ‘ब्लु डायरी’ उपन्यासको मूल्य ३५० रुपैयाँ रहेको छ ।
कमेन्ट गर्नुहोस्