लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पार्टी व्यवस्थापन गर्न नसक्नेले देश कसरी बनाउछन: गगन थापा

tillotmacitynews - 2021 Sep 06 04:16 PM
IMG

तिलोत्तमा सिटी, २१ भाद्र २०७८, सोमवार । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेदवारी दिएको बताउनुभएको छ ।सोमवार काठमाण्डाैमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरूलाई अनशन बस्नुपर्ने स्थिती आउन नदिनका लागि महामन्त्रीमा उम्मेदवारी दिएको बताउनुभएको हो ।नेता थापाले पार्टीका आन्तरिक समस्याहरूलाई हल गर्न सकेमात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नपत्याउने बताउनुभयो । नेता थापाले नयाँ कांग्रेस पुरानो दिनहरूलाई सम्झिएर बनाउनका लागि नौजवानको आवश्यक रहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर–अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो ।  पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यो भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरूले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीहरूलाई पार्टी कार्यालयमा आएर अनशन बस्ने स्थिति सिर्जना गर्न दिन्नँ, यतिमात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ । खास गरी नौजवान साथीहरूलाई मेरो अपिल छ, आह्वान छ, तपाईँ हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्नेछ, कांग्रेस नयाँ बनाउने हो तर पुरानो दिनलाई सम्झिएर बनाउने हो ।


’नेता थापाले ठूला–ठूला कुरा नगरि, स–सानो काम पूरा गरेर देखाउने काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । देशमा संविधानको शासनको पक्षमा उभिने कांग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छाड्ने बताउँदै उहाँले ठूला नेताहरूले साथ दिएर पार्टीलाई अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उत्तेजनामा ल्याउन र दुई, चार वटा मत बिगार्नका लागि पशुपतिको ढोका दिनमा पाँच पटकसमेत पुग्न तयार रहेको बताउनुभयो ।  

कमेन्ट गर्नुहोस्