
तिलोत्तमा सिटी,१७ भाद्र २०७८,बिहिबार। पहिरो हटाउन सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड बिहीबारदेखि दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ ।सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका-८ तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।दिउँसोको समयमा भने सडक नियमित सञ्चालन हुनेछ । उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।
तानसेन नगरपालिका–८ तल्लो डुम्रेस्थित राजमार्गमा राति नै पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर शिबु खत्रीले बताए। उनका अनुसार बिहीबार अर्थात् आज बेलुकी ७ बजेदेखि पहिरो पन्छाउन थालिएको हो।रातभरि पहिरो पन्छाउने र शुक्रबार बिहान ६ बजेसम्म काम गर्ने उनले बताए। शुक्रबार पनि रातकै समयमा पहिरो हटाइने काम हुने उनले बताए। स्काभेटर र जेसिबीको सहायतामा पहिरो सफा गरिरहेको जानकारी उनले दिए।केही दिनयताको अविरल वर्षासँगै डुम्रेमा खसेको पहिरोले ३ दिन राजमार्ग अवरुद्ध भएको थियो। पहिरो ठूलो भएकाले यातायात एकतर्फी मात्र सञ्चालन भएको थियो। दोहोरो सवारी आवागमन खोल्न पहिरो पन्छाउनु पर्ने भएकाले आजैदेखि काम सुरु भएको उनी बताउँछन्।जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारीसाधन आवागमनमा रोक लगाएको छ।
कमेन्ट गर्नुहोस्