
तिलोत्तमा सिटी,१५ भाद्र २०७८,मंगलबार। छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ ।गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । छानबिन समितिले एसएसबीको संलग्नतामा पुन: अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिश गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन् ।
‘समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानूनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिश गरेको छ’ पोखरेलले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको बताएका छन् ।सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।
हेर्नुहोस् विज्ञप्ति
कमेन्ट गर्नुहोस्