
तिलोत्तमा सिटी,०१ भाद्र २०७८,मंगलबार। घरको नक्सा पास गराउँदै हुनुहुन्छ? नक्सा पास गर्दा कागजी झन्झट बेहोर्नु भएको छ?, कि कागजपत्र बोकेर हिड्दा हराउने भिज्ने समस्या र लामो समयदेखि त्यहि काममा हिडेर थाक्नुभएको छ? अब त्यसो हो भने चिन्ता नगर्नुस् अब घरको नक्सा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयर अर्थात अनलाईनबाट पास हुने भएको छ। तर यसको लागि तपाईको घर भने तिलोत्तमा नगरपालिकाभित्र हुनुपर्दछ।
तिलोत्तमा नगरपालिकाले भाद्र महिनाबाट लागुहुने गरि नगरभित्रका १७ वटै वडाका घर निर्माण कार्यको दर्ता प्रक्रिया देखि नक्सा पास र घर सम्पन्नसम्म विद्युतीय नक्सा पास प्रणाली सञ्चालनमा ल्याएको हो। पुर्व तयारीको रुपमा अघिल्लो बर्ष बाटै गृह कार्य गरिसकेर शरु गरिएको सो अनलाइन नक्सा पास कार्यको लागि सबै तयारि पुरा भएको नक्सा शाखाका प्रमुख इञ्जिनियर मानिस खनालले बताउनुभयो।
देशकै नमुनाको रुपमा रहेको तिलोत्तमा नगरमा नगरप्रमुख बासुदेव घिमिरेले नक्सा शाखामा बढी भिड देखिएको र सेवा ग्राही आइरहन पर्ने कागजपत्र धेरै बोक्नुपर्ने झन्झटिलो उदाहरण पेश गर्दै सो कार्यको अन्त्यका लागी अब अनलाइन मार्फत नक्सापास शुरुवातका लागि काम अगाडी बढाईएको बताउनुभयो। तिलोत्तमाका घर कलरकोड तथा सरकारको मापदण्ड अनुसार बनाउने कार्यले सफलता पाइरहेको सन्दर्भ प्रस्तुत गर्दै नगरप्रमुख घिमिरेले अनलाइन जग्गा घर नक्सा पास तथा निर्माण सम्पन्न प्रक्रियाले सेवाग्राही र तिलोत्तमा बासीहरुमा समय र पैसाको बचत तथा झन्झटिलो कार्य बाट मुक्ति पाउने समेत बताउनुभयो। उहाले समयको माग, भवनसंहिता पालना, स्थानिय मापदण्ड र नक्सा बनाउने प्रक्रिया पारदर्शी गर्न तिलोत्तमा नगरले यस्तो प्रक्रियाको थालनी गरेको र समयको मागअनुसार नक्सा पासको शैलीलाई बदलेको समेत बताउनुभयो।
तिलोत्तमा नगरभित्रका नगरपालिकामा सुचिकृत इञ्जिनियरिङ्ग कन्सल्टेन्सीहरुलाई राखी बृहत भेलाको आयोजना गर्दै सो कार्यक्रमको शुरवात गरिएको नगरपालिकाको नक्सा शाखाका प्रमुख इञ्जिनियर मनिष खनालले बताउनुभयो। सो अनलाइन प्रक्रियालाई चुस्त दुरुस्त र बिना झन्झटिलो बनाउन सुचना प्रविधिको क्षेत्रबाट समेत निकै सहजता भएको नगरपालिकाका सुचना तथा प्रबिधि प्रमुख इन्जिनियर सुदिप ढकाल ले बताउनुभयो। सेवाग्राही हरुलाई सहजता अपनाउन अझै प्रभाबकारी होस् भन्ने उदेश्यका साथ् सो अनलाइन प्रक्रियाको एप्स निर्माण गरिएको सुचना तथा प्रबिधि प्रमुख इन्जिनियर ढकालले बताउनुभयो।
विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्तिले घरमै बसेर काम गर्न सक्छ। स्वयम व्यक्ति आएर लाम बसिरहनु नपर्ने र फाईल बोकेर दौडिरहन नपर्ने भएकाले प्रभावकारी भएपछि महानगरभरी सोही प्रणाली लागू गर्न लागिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदीप पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरु सुरक्षित रहने तथा नगरलाई पनि तथ्याङ्क राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुन्छ। नगरलाई कागज बिहीन बनाउने र स्मार्ट सहरको रुपमा विकास गर्ने योजना अर्न्तगत नगरपालिकाले अनलाइन नक्सा पास प्रणाली थालेको उहाको भनाइ छ।
तिलोत्तमा नगरभित्रका सुचिकृत कन्सल्टेन्सीका इन्जिनियर हरुलाई सहजीकरण गरिएको कार्यक्रममा शाखा प्रमुख मनिष खनाल, स्टक्चर इन्जिनियर सन्तोष पाण्डे, कमल खड्का, सुचना प्रबिधि इन्जिनियर सुदिप ढकालले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा यस क्षेत्रका एक सय भन्दा बढी कन्सल्टेन्सिमा कार्यरत इन्जिनियर हरुको उपस्थिति रहेको थियो।
के हो अनलाइन नक्सा पास
इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरमा नक्सा पास गर्न कहाँ–कहाँ जाने भनेर 'अप्सन' र अप्सनमा विभिन्न डेस्क राखिएका हुन्छन्। ती डेस्कमा चरणबद्ध रूपमा गएपछि नक्सा पास गर्ने प्रक्रिया पूरा हुन्छ।इजाजत प्राप्त व्यक्ति वा कन्सल्टेन्टलाई प्रोग्रामको 'युजर आईडी र पासवर्ड' अनुसार नक्सा पास गर्न चाहिने जग्गाको लालपुर्जा, नागरिकता, फोटो, मालपोत तिरेको रसिद, नापीनक्साजस्ता घरजग्गामा सरोकार राख्ने कागजपत्र स्क्यान गरेर सबै फाइल 'एटयाच' गरी पठाईन्छ।त्यसपछि डिजाइन डेस्कबाट डकुमेन्ट रजिस्ट्ेरसन डेस्कमा आइपुग्छन्।
जसमा लालपुर्जा, जग्गाको कित्ता नम्बर लगायत इन्जिनियरले जाँच गर्छन्। यसपछि इन्जिनियरले टेक्निकल डेस्कमा पठाउँछन। जुन डेक्समा डिजाइन, भवन मापदण्ड तथा भवनसंहिता पूरा गरेको नगरेको हेरिन्छ। सबै ठीक भएपछि 'एक्ज्युकेटिभ डेस्क' मा पठाईन्छ जसमा छुटपुट छ वा छैन भनेर जाँच गरिन्छ। यसपछि 'रेभिन्यु डेस्क' हुँदै राजस्वमा गएपछि विधिवत दर्ता भई वडा डेस्कमा जान्छ। वडा डेस्कमा पुगेपछि १५ दिने सूचना टाँसगरी सँधियारको दाबीविरोध, प्राविधिकबाट नक्साअनुसारको फिल्डलगायत जाँच गरिन्छ। यी सबै प्रक्रिया पूरा गरी वडा डेस्कले अपलोड गरेर फेरि केन्›मा पठाइदिन्छ र त्यपछि नक्सा पास हुन्छ।
कमेन्ट गर्नुहोस्