लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत ५ कविता

IMG

असार १२ गते शनिबार २०७८ तिलोत्तमा सिटी। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष गर्दै आइरहेको ‘राष्ट्रिय कविता महोत्सव’मा यसपालि पाँच कविका कविता पुरस्कृत भए । भोजपुरकी कवि कविता राईको कविता ‘देशको नक्सा’ प्रथम भएको थियो । धादिङकी  कवि अमृता स्मृतिको कविता ‘डढेलोपछि पनि वसन्त आउँछ’ दोस्रो, ताप्लेजुङकी कवि सविता बरालको  ‘आमा म आएँ अब’, बर्दियाकी कवि निरञ्जनाकुमारी चन्दको ‘युगिन प्रतिध्वनि ‘र नुवाकोटका कवि प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ तृतीय भए । महोत्सवमा पुरस्कृत भएका कविहरूको पाँच वटा कविता : 


देशको नक्सा

–कविता राई


म कोरिरहेकी छु

देशको सग्लो नक्सा ।

खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू

जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा

आफ्नी आमाको मुहारचित्र ।

अनायस करेसाको डिल भत्किन्छ

पर्खाल उठाउँछु

सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन

कुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छु

र मेट्छु धाँजाहरू !


विषाक्त हावा बोकिआउने आँधी

उडाउनै खोज्छ मलाई

बलेँसी चिरा पार्ने मुसलधारे वर्षा

बगाउन खोज्छ मलाई

छानाबाट झरेका पानीका तप्कनाले समेत

शिरदेखि पैतालासम्मै भिजाउँछ

तर पनि म उभिइरहन्छु पहाडजसरी

घरको मूल खाँबो समातेर

र कोरिरहन्छु सहस्र रेखाहरू !


ओ ! सिमाना काटिजाने चराहरू

पहाड भत्काएर बगिजाने खोलाहरू

देवल उठाइरहेका पौरखी धमिराहरू

माटोको दरबार उठाइरहेका कमिलाहरू

सुन,

भूगोलका यिनै मसिना रेखाहरूले त

जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई

जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ

र लटरम्म खुसीको घाम फल्छ !


छामिहेर त

आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी

हो, धड्किरहेको छ त्यहाँ

छुटेका भूगोलसँगै छुटेका मनहरू

एकाकार भएको

स्वाधीन देशको सग्लो नक्सा ।


000


डढेलोपछि पनि वसन्त आउँछ

-अमृता स्मृति


हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे

मगमगाउँथे हार्दिक भावहरू

झमझमाउँथे प्रेयसीका पाउजु

र घिस्रिरहन्थ्यो बुढो लौरी

आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी

घन्किरहन्थ्यो आदिवासी धुन

ती सबै–सबै कहाँ गए ?

विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रिएको

पिँढीको गुन्द्री बिर्सिएर

कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?

भोलि यही बाटोमा भेटिएला÷नभेटिएला

आमाका पैतालाका डोबहरू !


न कुनै आहत

न कुनै पदचाप

समय आफैं मलामी आफैं मुर्दा बनेर लम्पसार छ

ए ! छिरिङ

ए ! खान

चित्र प्रर्दशन गर्न

किलोको आड चाहिए जस्तै

देशलाई चाहिएको छ

हाम्रा पाखुराहरूको आड

हाम्रा चेतनाहरूको आड

मौरीहरू मुर्झाउन नखोज भर्नै बाँकी छ

यो देशको घारमा महको चमक !


झुल्किन्छ-झुल्किन्छ

हामीले जीवनभर खोजिरहेको उज्यालो घाम

पर्दा बनेको यो कैदी समयमा पनि

तराई, भावर, चुरे र पहाडमा

महाभारत, हिमाल र भोटमा

कुन–कुन जातका फुल फक्रिसके होलान् ?

जङ्गलमा डढेलोपछि पनि रुख/विरुवा पलाउँछन् ।

जङ्गलमा डढेलोपछि पनि वसन्त आउँछ ।


000


युगीन प्रतिध्वनि

-निरन्जना कुमारी चन्द ‘निरू’

अणु र परमाणुका मुटु थर्काउने हाँकहरूसँगै

भस्मासुर र भाइरसका पटकपटकका विश्वयुद्घहरू

र सिमानाका रक्तरञ्जित कथाहरूले निम्त्याएका

युगीन त्रासदीहरूमा

छातीमा अड्याएर जीवन

पिइदिऊँ घामका लप्काहरू

छाइदिऊँ शीतलता

सँगालेर जूनका टुक्राहरू

लाइदिऊँ माला

उनेर गुराँसका थुँगाहरू।


विशाल हृदयहरूको खानी

विश्वभूगोलको एक टुक्रा मेरो देश

धावा दिएर गाउँछ गीत वीरताको

र उचालेर चन्द्रसूर्य

म लगाउँछु सिँदुर

भुइँको एक चिम्टी माटो उठाइ

गाउँछु गीत सगरमाथा उचाइको।


छोडेर विध्वंसका अस्त्रहरू

आत्मज्ञान विस्फोट गराई कोहिनुर उज्यालामा

गरिदिऊँ बीजारोपण शान्तिका सम्बोधी आँखाहरूको

विश्वब्रह्माण्डभर गुन्जाएर बुद्घका मन्त्रध्वनिहरू

उडाइदिऊँ सेता परेवाका जोडीहरू

रोग भोग शोक अनेक सन्नाटाहरू मेटाएर

छरिदिऊँ मानवताका सम्यक् बीजहरू।


आऊ श्रमका पुजारीहरू!

पौरखी जिजीविषा फुलाएर

फिजाइदिऊँ दायित्वका नवरङ्ग आकाशभरि

समृद्घिका आशातीत रङ्गहरू इन्द्रेणीमा

पोतिदिऊँ धर्तीमा झिकाएर

चिहानबाटै जुरमुराएर

बिहानबाटै ब्यँुझिएर

रोपिदिऊँ समानताका सुन्दर बोटहरू।


जीवनका अफ्ठ्यारा आँधीहुरीहरूमा

मैदानबाट दौडिँदै चुचुराबाट गर्जिँदै

खेलिदिऊँ पौँठेजोरी सतिसाल भएर।


उठ ए झुपडीका ताता मान्छेहरू!

सल्काइदिऊँ चिराक मूच्र्छना जगाएर

जाग ए किनारीकृत निन्याउरा मान्छेहरू!

बुलन्द गराइदिऊँ दबाइएका आवाज

पुरिदिऊँ गहिरा खाडलहरू।


000


आमा म आएँ अब

-सविता बराल


हाँस्छन् शैल,मनुष्यपल्लवित छन्,बोल्छन् शिलागौरव

इन्द्रेनीमयजात,धर्म, थरलेछर्छन् सुधा सौरभ

यस्तो सृष्टिकला अमूल्यनिधिको बोकीमहासागर

थोपो खोज्न कतै म जान्नँजननीआएँ म आएँअब


मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर

मेरो वैदिक ज्ञान तर्छ जगमा विज्ञानको सागर

रोदी,मादल,धाननाच, जितियाबन्धुत्वका रक्षक

गाऔँगान‘सयौँ थुँगा…’ सँगसँगै आमा मआएँअब


टोपी, बक्खु तयार छन्, सडकमा नाङ्गा नरोउन् कतै

किंकर्तव्यविमूढ बन्ननपरोस्भोकाहरूले अझै

यार्चागुम्बु,चिराइतो कलुषतानिर्मूल पार्दै सब

बाँच्ने विश्वबचाउने रहरले आऊ, मआएँअब


मेरा पाउ समृद्ध छन्,शिर उँचो, छाती खुलानिर्मल

सीमामाबलभद्रकाकलमले गर्दैछु हस्ताक्षर

साझालक्ष्यविकासकोमुलुकमा मेची र कालीसँग

नौलाद्वार सुशान्तिका,प्रगतिकाखोलेरआएँअब


बोकीमाथ म विश्वसाथ नउठे के काम यो शैलको

कोसीझैँ अविश्रान्तबग्ननसके के अर्थ यो सैरको

मेरा शैलशिखा, सुरम्य सरिता साँचेर राखूँ सब

आफ्नै आँगनमानिचोर्न पसिनाआमा म आएँ अब


000


बोधिसत्व खोप

-प्रकाश सिलवाल


कुनै जादुगरले

कागजका पानाहरूलाई

चपाई चपाई स्वाट्ट निलेर

ह्वालह्वाल्ती पानी निकाले झैँ

किन चटक हेर्न

विवश छन्

स्वयम्भूका आँखाहरू ?


घरी कर्ममौरीहरुलाई

डकैतीले झैँ घेर्न खोज्छ

घरी आफँैलाई

जिउँदै जलाएको सपना देख्छ

र आफ्नै मलामीको जुलुसलाई

घन्टौँ कर्कश सम्बोधन गर्छ !


यो कस्तो सङ्क्रमण हो

जसले,

लालीगुराँसको सुगन्धमा बाँचिरहेको

डाँफे चरीको

श्वासथैलीलाई

चलमलाउन दिँदैन

प्राणवायु प्रवाह हुने

कोषिकापत्रलाई नै

कुनै समय नेपालको मानचित्रबाट

कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई

अलप गराइए झैँ

क्षणभरमै अलप गराइदिनसक्छ

रक्तनलीभित्रको होमोग्लोबिन तत्वलाई

चैतमासको खहरे झैँ सुकाइदिएर

आनन्द लिन चाहन्छ

अशान्ति र पृथकतावादका सूत्रधारहरुलाई

रानीमहलका जोडीले झैँ

असीम प्रेमको आलिङ्गन सुम्पन छोड्दैन !


यतिबेला म

आधुनिक धन्वन्तरी भएर

समृद्धिको धरहरालाई सम्झिएर

एउटा त्यस्तो मेसिन बनाउँदैछु

जसले तुरुन्तै पत्ता लगाउनेछ–

यो भयानक भाइरसका कारण र असरहरु

प्रिय बुद्धभूमिविरुद्धका

घातक कुण्ठा

र तुच्छ स्वार्थका बीजहरु…


सुन !

म एउटा त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु

जसले पहिलो मात्रामै

परास्त गर्नेछ–

सगरमाथा हाँस्दा रमाउन नसक्ने

विकृत स्नायुग्रन्थीका तमाम सङ्क्रमणहरु !


000

कमेन्ट गर्नुहोस्