लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौथो हरि स्मृति निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,२ सय ७० जना बढी लाभान्वित

IMG

भलवारी ।  लियो क्लब अफ रूपन्देही भलवारी र लायन्स क्लब अफ रूपन्देहीको संयुक्त आयोजनामा सञ्चालित चौथो हरि स्मृति निःशुल्क स्वास्थ्य शिविर भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविरमा २ सय ७० जनाभन्दा बढी सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गर्नुभएको छ।कार्यक्रमको अध्यक्षता लियो क्लब अफ रूपन्देही भलवारीका अध्यक्ष लियो विकास सुनार तथा लायन्स क्लब अफ रूपन्देहीका अध्यक्ष लायन्स दासीराम अधिकारीले गर्नुभएको थियो।


शिविरमा मधुमेह, मुटु रोग, छाला तथा दन्त परीक्षण, दाँत उखाल्ने सेवा, फिजिसियन सेवा, हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ सेवा, जनरल सर्जरी तथा ल्याप्रोस्कोपी विशेषज्ञ सेवा, महिला तथा बालरोग विशेषज्ञ सेवा प्रदान गरिएको थियो। त्यस्तै, मोतिबिन्दुको शल्यक्रिया, औषधि वितरण तथा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको लियो क्लब अफ रूपन्देही भलबारीका उपाध्यक्ष विश्वजित प्रसाद रामदामले बताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य लेखजंग थापाले मानव जीवनमा स्वास्थ्य सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउँदै प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो। उहाँले चिकित्सकको सल्लाहबिना जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्दा भविष्यमा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने बताउनुभयो।


स्वास्थ्य परीक्षणपछि चिकित्सकले सिफारिस गरेका औषधि किन सेवन गर्ने र त्यसको फाइदा के हो भन्ने विषयमा पनि बिरामीले चिकित्सकसँग जानकारी लिनुपर्ने उहाँको सुझाव थियो।त्यसैगरी, तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवीप्रसाद पंगेनीले युवाहरूको सकारात्मक सोच र सक्रियताले असम्भव देखिने काम पनि सम्भव बनाउन सकिने बताउनुभयो। युवाहरूको सिर्जनशीलता र सामाजिक सेवाभाव प्रशंसनीय रहेको उल्लेख गर्दै आफूलाई पनि सधैँ युवाहरूको संगतमा रहन मन लाग्ने उहाँले बताउनुभयो।कार्यक्रममा लायन्स क्लबका पीएमजेएफ बलराम भट्टराईले रक्तदान कार्यक्रम सञ्चालन भइरहे पनि समाजमा अझै रगतको अभाव कायम रहेको बताउनुभयो। उहाँले रक्तदानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता सामाजिक अभियानले बिरामीलाई ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो।स्वर्गीय हरिप्रसाद जोशीको स्मृतिमा आयोजना गरिएको स्वास्थ्य शिविरले स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा लिन सहज बनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएका यस्ता कार्यक्रमले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समुदायमा सेवाभाव र मानवीय सहयोगको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।


कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद माननीय डा. लेखजङ्ग थापा रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा लुम्बिनी विकास कोषका सदस्य डा. अमित केसी तथा निवर्तमान गभर्नर, लायन्स डिस्ट्रिक्ट ३२५ पी नेपालका बालराम भट्टराईको उपस्थिति रहेको थियो।कार्यक्रममा अतिथिका रूपमा तिलोत्तमा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष देवीप्रसाद पंगेनी, तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य सुरेन्द्र श्री, लायन्स क्लब अफ रूपन्देहीका पूर्व अध्यक्ष कुसुमराज केवाली, वडा सदस्यहरू शोभाकान्त ढकाल, तारा थापा तथा कल्पना थापाको उपस्थिति रहेको थियो।त्यसैगरी लियो चियरपर्सन लायन्स अरुण पन्थी, लियो डिस्ट्रिक्ट ३२५ पी का उपाध्यक्ष लियो श्रीधर कुँवर, रिजन चेयरपर्सन स्वेच्छा ज्ञवाली, सेमरा बजार माध्यमिक विद्यालयका खेमराज पाण्डे, प्रभात आधारभूत विद्यालयकी रीता ज्ञवाली, विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू टेकनारायण ढकाल, नारायण पंगेनी तथा विशन शाही र इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द, र करहिया खानेपानी निवर्तमान अध्यक्ष हेमराज पौडेल समेतकाे गरिमामय उपस्थिति रहेको थियो।


स्वास्थ्य सेवामा प्राविधिक सहयोग तथा योगदान गर्ने संस्थाहरूमा प्राविधिक सहयोग प्रदान गर्नुहुने साझा हस्पिटल प्रा.लि., बुटवल, लुम्बिनी चश्मा घर, मणिग्राम,द डेन्टल इरा, भलवारी लगायतलाई धन्यबाद ज्ञापन गरिएको क्लबका सल्लाहकार तथा कार्यक्रम संयोजक लायन रविन जोशीले बताउनुभएको थियो। कार्यक्रम सञ्चालन लियो क्लब अफ रूपन्देही भलवारीका सचिव लियो कृपा पन्थले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्