
बुटवल । लामो समयदेखि बुटवललाई केन्द्र बनाएर सञ्चारकर्ममा सक्रिय पत्रकार हरिलाल बस्याल अचेल कलमसँगै कृषि कर्ममा पनि जोडिएका छन् । पत्रकारिता क्षेत्रको प्राविधिक ज्ञान र क्यामरामा दखल राख्ने बस्यालले माटोमा आर्थिक उत्पादनशील कृषिलाई प्राथमिकता दिँदै व्यावसायिक सयपत्री फूल खेती सुरु गरेका हुन् ।
बाग्लुङको बढीगाड गाउँपालिका वडा न १ स्थायी घर भएका बस्यालले रुपन्देहीको कञ्चन गाउँपालिकामा वार्षिक २६ हजार रुपैयाँ बहाल तिर्ने गरी १७ कठ्ठा जग्गा लिजमा लिएका छन् । सोही जग्गामा तीन लाख रुपैयाँको लगानीमा १५ हजार सयपत्रीका बिरुवा रोपेर उनले व्यावसायिक फूल खेतीको यात्रा सुरु गरेका हुन् । पत्रकारितासँगै कृषि क्षेत्रको अनुभव समेत बटुल्दै आएका बस्यालले माटोमै आर्थिक उत्पादन गर्न सकिने भन्दै उत्पादनशील कृषिलाई प्राथमिकता दिएको बताए ।
रुपन्देही सयपत्री फूलका लागि अत्यन्तै उर्वर भूमि हो, यहाँ ठूलो सम्भावना छ, व्यावसायिक खेतीको अनुभव साट्दै बस्याल बस्याल भन्छन्-तर तराईको मौसमका कारण फूलमा किराको प्रकोप बढी हुने डर सधैं रहन्छ । किराको प्रकोपबाहेक बजारको अर्को ठूलो चुनौती खु्रल्ला सिमाना रहेको उनको भनाइ छ । नेपाल भारत सीमा नजिक भएकाले भारतबाट अवैध र सस्तोमा आउने फूलका कारण स्थानीय उत्पादनले लागत अनुसारको उचित बजार भाउ पाउन नसकेको पत्रकार बस्यालको गुनासो गरे । यसपालिको तिहारको लागि बारीमा फूल तयार रहेको बताउँदै उनले बिक्रिको अनुपात सोचेजस्तो भएमा आगामी बर्ष फुल खेतीलाई बढाउने बताए ।
स्वदेशी फूल उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय सरकारले ठोस नीति ल्याउनुपर्नेमा बस्यालको जोड छ । सयपत्री फूलको बीउको चर्को मूल्य नियन्त्रण गर्न, आवश्यक कीटनाशक औषधि र मल जस्ता कृषिजन्य सामग्रीमा अनुदान वा मूल्य सहज गराइदिने नीतिगत संरचना स्थानीय तहले निर्माण गर्नुपर्ने उनको माग छ । स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने र भारतीय फूलको आयातलाई नियमन गर्ने हो भने फूलमा नेपाल आत्मनिर्भर मात्र नभई निर्यातमुखी उत्पादनतर्फ अघि बढ्न सक्ने पत्रकार बस्यालको विश्वास छ ।
कमेन्ट गर्नुहोस्