
काठमाडौं । सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गरेको छ ।सरकारले लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापन थप प्रभावकारी बनाउने उद्देश्य सहित पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन् । उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवनसंहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्यांकन क्षेत्रमा काम गर्दै आएका छन् ।पाण्डेले काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । त्यसअघि उनले रुपन्देही तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए ।
त्यस्तै उनले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । निजी क्षेत्रतर्फ भिजनरी डिजाइन प्रालिमा काम गरेका उनले विभिन्न स्थानमा ‘पैदलयात्री पुल’ को संरचनागत डिजाइन तथा विस्तृत प्राविधिक अध्ययन गरेको अनुभव बटुलेका छन् ।पाण्डेले काठमाडौंस्थित एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक गरे । त्यसपछि भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट सन् २०१६ मा स्ट्रक्चरल इन्जिनियरिङमा एमटेक गरे ।
उनले नेपाल राष्ट्रिय भवनसंहिताको समीक्षा प्रक्रियामा समेत योगदान दिएका छन् । सन् २०२४ मा स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपालको भवनसंहिता समीक्षा समितिमा सक्रिय योगदान गरेका थिए ।
कमेन्ट गर्नुहोस्