
काठमाडौं। नेपालका युवा नेतृत्वकर्ता प्रदीप गिरी संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (UNODC) अन्तर्गतको भ्रष्टाचारविरुद्धको शिक्षा तथा युवा सशक्तीकरणसम्बन्धी विश्वव्यापी पहल (GRACE) को YouthLED Integrity Advisory Board (2026–2028) को सदस्यमा चयन भएका छन्।
भ्रष्टाचारविरुद्ध युवाको सहभागिता, नैतिक नेतृत्व, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरिएको उक्त सल्लाहकार बोर्डमा गिरीले नेपालको प्रतिनिधित्व गर्नेछन्।यस बोर्डमा ११६ देशबाट प्राप्त १ हजार १२२ आवेदनमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट ४६ देशका ४३ युवा नेतृत्वकर्ताहरू चयन भएका हुन्। विश्वका विभिन्न देशका युवा नेतृत्वकर्तालाई एकै मञ्चमा जोड्दै भ्रष्टाचारविरुद्ध युवा नेतृत्वमा आधारित अभियान तथा पहललाई अगाडि बढाउनु बोर्डको प्रमुख उद्देश्य रहेको छ।
बोर्डको सदस्यमा चयन भएपछि गिरीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा युवाका अनुभव, विचार र दृष्टिकोण प्रस्तुत गर्न पाउनु गौरवको विषय भएको बताएका छन्।उनले भ्रष्टाचार, नातावाद, कृपावाद तथा जवाफदेहिताको अभावले सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर बनाउनुका साथै युवाका अवसरहरू सीमित गर्ने उल्लेख गर्दै सुशासन र समृद्ध समाज निर्माणका लागि युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएका छन्।
गिरीले पारदर्शिता, जवाफदेहिता, नैतिक नेतृत्व र संस्थागत सुदृढीकरणमार्फत भ्रष्टाचारमुक्त समाज निर्माणका लागि विश्वभरका युवा नेतृत्वकर्तासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।नेपालमा युवा सशक्तीकरण, सामाजिक विकास, सुशासन तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय गिरीको यस अन्तर्राष्ट्रिय नियुक्तिलाई विश्वव्यापी युवा नेतृत्व र भ्रष्टाचारविरुद्धको अभियानमा नेपालको सहभागिता विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।उनको यो चयनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली युवाको क्षमता, नेतृत्व र सुशासनप्रतिको प्रतिबद्धतालाई थप परिचित गराउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्