लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवौ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि,प्रविधी एबम पर्यटन प्रबर्द्धन महोत्सवको तयारी तीब्र, धमाधम स्टल बुक हुँदै

IMG

तिलोत्तमा । मङ्सिर ३ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागिरहेको तिलोत्तमाको मणिग्राममा सञ्चालन हुने नवौ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि,प्रविधी एबम पर्यटन प्रबर्द्धन महोत्सव–२०८३ को तयारी तीब्र पारिएको छ। तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा तथा तिलोत्तमा नगरपालिका , तिलोत्तमा चेम्बर अफ कमर्श र तिलोत्तमा उद्योग ब्यापार संगठन सहआयोजक रहने उक्त महोत्सव मङ्सिर १६ गतेसम्म चल्ने छ । महोत्सवमा करिब ३५० स्टल रहनेछन् भने हालसम्म २५० स्टल बुक भइसकेका  मूल आयोजक समितिका संयोजक तथा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो। 


महोत्सवले स्थानीय व्यापार, उद्योग, व्यवसाय, पर्यटन, संस्कृति र मौलिक पहिचानलाई प्रवर्द्धन गर्ने र यस वर्षको मेलामा विगतका वर्षभन्दा केही फरक र नवीन कार्यक्रम प्रस्तुत गरिने उहाँले बताउनुभयो । हाल उद्योगी व्यवसायीहरू व्यपार तथा उद्योग सचालन गर्न बैंक ब्याजदर र अन्य आर्थिक चुनौतीका कारण कठिनाइमा रहेको परिस्थितिमा सरकार परिबर्तन संगै केहि राहत र ब्यापार बिस्तार हुने अपेक्षा सहित यो मेलाले सबैलाई उत्साह र आशा जगाउने आयोजकको विश्वास छ । तिलोत्तमा उद्योग बाणिज्य संघका प्रचार प्रसार संयोजक गोबिन्द रेग्मीका अनुसार महोत्सवमा आकर्षक प्रख्यात धार्मिक स्थलबात बनाइएको प्रवेशद्वार, जलपरी, विभिन्न संस्कृतिक नृत्य, राष्ट्रिय स्तरका चलेका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, परम्परागत रहनसहन, रितिरिवाज झल्किने गाउँले परम्परा झल्किने स्टलहरु, युवा पुस्ताका लागि विशेष कार्यक्रम, ३६० झुला, पिङ, चर्के पिङ, ब्रेक डान्स, डुंगा, बाल उद्यान लगायतका मनोरञ्जनात्मक खेल तथा ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिने छन्।


विद्यार्थीहरूलाई ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट दिइने र करिब ढाई लाख दर्शक सहभागी हुने आयोजकको दाबी छ। तिलोत्तमा महोत्सव सिंगो तिलोत्तमावासीको भएकाले सबैको साथले महोत्सव सफल हुने आयोजकले जनाएको छ। 

कमेन्ट गर्नुहोस्