
तिलोत्तमा ।तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थित तिनाउ नदी क्षेत्रमा मापदण्ड विपरीत अवैध रूपमा ढुंगा उत्खनन तथा संकलन गरेपछि स्थानीय वडा कार्यालयले ‘बानियाँ जे भि कन्स्ट्रक्सन’ लाई काम रोक्न निर्देशन दिएको छ। तिनाउ दानव करिडोर निर्माण आयोजनाको काम गरिरहेको उक्त निर्माण कम्पनीले पटक-पटकको चेतावनीलाई अटेरी गर्दै अवैध रूपमा खाल्डो खन्ने, ढुंगा चाल्ने र अन्यत्र ओसारपसार गर्ने कार्य जारी राखेपछि वडा कार्यालयले पत्र काट्दै निर्माणजन्य सम्पूर्ण गतिविधिमा रोक लगाएको हो।
वडा अध्यक्ष हरि बहादुर क्षेत्रीद्वारा हस्ताक्षरित पत्र अनुसार, कम्पनीलाई यसअघि पनि सिमानगर हाट बजार क्षेत्र तथा तिनाउ खोला नजिकै मापदण्ड विपरीत खनिएका खाल्डा र नदीजन्य पदार्थको दुरुपयोग रोक्न निर्देशन दिइएको थियो। तर, निर्माण कम्पनीले स्थान परिवर्तन गर्दै पुनः वडा नं. ४ देखि पश्चिम-दक्षिण तिनाउ खोला किनारमा एक्साभेटर प्रयोग गरी गैरकानुनी रूपमा ढुंगा संकलन र निकासी गर्न थालेपछि वडा कार्यालय कडा रूपमा प्रस्तुत भएको हो। वडा कार्यालयले ४ नं. वडा क्षेत्रभित्र मेसिन प्रयोग गरी वा नगरी गरिने कुनै पनि किसिमका निर्माणजन्य गतिविधि तत्काल रोक्न र ढुंगा नउठाउन स्पष्ट पारेको छ।
साथै, यदि उक्त उत्खनन कार्य नियमसम्मत र कानुनी प्रक्रिया अनुसार भएको भए आयोजना हेर्ने सडकका प्राविधिक, आयोजनाको आधिकारिक लिखित पत्र र नदी क्षेत्रको ढुंगा, गिट्टी तथा माटो प्रयोग गर्न पाउने स्पष्ट कार्यादेश (Work Order) वडा कार्यालयमा पेस गर्न कम्पनीलाई भनिएको छ। कानुनी प्रमाण र स्पष्ट कार्यादेश पेस नगरिएसम्म काम नगर्न र आदेशको अवज्ञा गरिएमा कानुन अनुसार कडा कारबाही गरिने चेतावनी समेत पत्रमार्फत दिइएको छ।
कमेन्ट गर्नुहोस्