
काठमाडौँ, साउन १२ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको प्रभावले बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ।
मङ्गलवार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी बुधबार देशका हिमाली तथा पहाडी भूभाग र बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बिहीबार पनि देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। बुधबार र बिहीबार सुदूरपश्चिम प्रदेशका तराई भूभागका समेत एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्