
सिद्धार्थनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुधबार सूचना जारी गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द हुने जानकारी दिएको हो । प्रशासनको सूचना अनुसार फागुन १८ गते (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीबार) राति १२ बजेसम्म सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहने छन् ।
सो अवधिमा सीमाबाट पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ ।यसैगरी फागुन २० गते (बुधबार) राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ । एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो ।निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन गरिने समेत प्रशासनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्