
तिलोत्तमा सिटी,२०८२ जेठ २४ गते । हिजो २३ गते शुक्रबार मितिनी नेपालको आयोजना तथा बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका, तिलोत्तमा नगरपालिका, सुनवल नगरपालिका र सैनामैना नगरपालिकाको समन्वय र सहकार्यमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको वैवाहिक समानता र नागरिकताको विषयमा स्थानीय जनप्रतिनिधिहरुसंग कार्यशाला गोष्ठी बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको सुरुवात गर्दै मितिनी नेपाल लुम्बिनीकी फोकल पर्सन सितल थापाले सहभागिहरुलाई स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको वर्तमान अवस्था, विद्यमान कानुनी प्रावधानहरु, वैवाहिक असमानता र सेवा तथा सुविधाहरु प्राप्त गर्दा समुदायले भोगेका चुनौतीहरु बारेमा अभिमुखिकरण गर्ने, स्थानीय निकायसंगको सम्बन्ध विस्तार गर्दै सहकार्य गर्ने, कथा साझेदार मार्फत् समुदायले भोग्दै आइरहेको चुनौतीहरु लगायत खुला छलफलको माध्यमबाट जनप्रतिनिधिहरुको सुझाव एवम् प्रतिक्रिया लिने कार्यक्रमको उद्धेश्य रहेको बताइन्।
कार्यक्रममा प्रस्तुतिकरण दिदैं मितिनी नेपालकी कार्यकारी निर्देशक सरीता के.सी. ले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको शब्दावली, नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ मा भएका कानुनी व्यवस्थाहरु, मितिनी नेपालको संक्षिप्त परिचय, मितिनी नेपालले गर्दै आएका कार्यक्रमहरु, नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसंग सम्बन्धित नेपालको कानुनमा भएका व्यवस्थाहरु, समुदायको विद्यमान अवस्था र चुनौतीहरु र आगामी दिनमा स्थानीय सरकारसंग मिलेर समुदायको सशक्तिकरण र विकासका लागि कसरी अगाडी बढ्ने सन्दर्भमा प्रस्तुतिकरण दिदैं सेसनको सहजीकरण गर्नु भयो । कार्यक्रममा समुदायको तर्फबाट युभान्स पाण्डे, शनि परियार र क्षितिज क्षेत्रीले कथा साझेदार गरेका थिए भने सुचनामुलक भिडियो पनि प्रसारण गरिएको थियो । यसै गरी मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आन्दोलनको बारेमा बताउँदै समुदायको वैवाहिक सम्बन्धले पुर्ण रुपमा कानुनी मान्यता नपाएकाले विद्यमान कानुन महिला र पुरुषको लागि मात्र भएको र यसले समुदायलाई सम्बोधन नगरेकाले नीतिगत रुपमा कानुनमा परिमार्जन एवम् संशोधनको आवश्यकता रहेको बताए ।
कार्यक्रमको अन्त्यमा खुला छलफल मार्फत् कार्यक्रमका सहभागिहरुले समुदायको विषयमा र कार्यक्रमको बारेमा सान्दर्भिक र महत्वपुर्ण जिज्ञासा एवम् प्रश्नहरु राखेका थिए । सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले यौनिक तथा लैगिंक अल्पसंख्यकको विषयमा सकारात्मक रहेको र निरन्तर साथ र सहयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको कार्यक्रममा १५७ जनाको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्