
बुटवल। सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे वृहत अन्तरक्रियाका लागि भोली शुक्रबारदेखि बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । दुई दिनसम्म आयोजना हुने सम्मेलनबाट अवसर र सम्भावको खोजी गर्ने लक्ष्य राखिएको छ ।प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरु सहभागी गराएर सम्मेलन गर्न लागेको हो ।सम्मेलनलाई सातवटा सत्रमा विभाजन गरी विभिन्न विषयमा अन्तरक्रिया गरिने अध्यक्ष नवराज कुँवरले जानकारी दिए । उनका अनुसार सम्मेलनको सुरुमा उदघाटन सत्र हुने छ भने त्यसलगत्तै दोस्रो सत्रमा “परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो” विषयमा छलफल गरिने छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापाले प्रस्तुती राख्नेछन् ।
त्यस्तै छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा छलफल हुने छ । जसमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीको प्रस्तुती रहने छ । सम्मेलनमा ‘के अनलाइन पत्रकारिता सधैका लागि हो ?’ भन्ने विषयमा छलफलका लागि अनलाइन खवरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधानले प्रस्तुती राख्ने कार्यतालिका रहेको छ । यसैगरी ‘किन फस्टाउन सकेन विज्ञापन बजार ?’ भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रस्तुती रहने छ।
सम्मेलनमा ‘अनेक संस्थाः नियमन कि नियन्त्रण ?’ भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राख्ने छन् भने सम्मेलनको सातौं सत्रमा “सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो ? के हुँदैछ ?” भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पुर्व अध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसीको प्रस्तुती रहने छ ।
विज्ञहरुका प्रस्तुतीपछि संक्षिप्त प्रश्नोत्तर समेत गरिने अध्यक्ष कुँवरले जानकारी दिए । उनले मिडिया सम्मेलनले सञ्चारमाध्यमहरुको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने गरी सम्मेलनले ठोस कार्ययोजना बनाउने बताए । संघका उपाध्यक्ष विष्णु भुसालले यो सम्मेलन मिडियाको भविष्यका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।मिडिया सम्मेलनले सञ्चारमाध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको संघका सचिव माधव नेपालले बताए । उनले सम्मेलनमा रेडियोहरुको विषयमा छुट्टै प्रस्तुती नराखिए पनि सहभागी विज्ञहरु नै रेडियो सञ्चालक समेत भएकाले एफएम रेडियोका समस्या पनि उजागर हुने विश्वास व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्