लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता

IMG

तिलोत्तमा सिटी,  २०८१ मंसिर १३ गते।  बुटवलमा हुन गइरहेको औद्योगिक व्यापार मेलाको प्रचारप्रसार टिकटकका माध्यमबाट पनि गरिने भएको छ । सामाजिक सञ्जाल टिकटकको बढ्दो प्रभावलाई मध्यनजर गर्दै बुटवल मेलाको प्रचार प्रसार गर्न टिकटक प्रतियोगिता हुने भएको हो ।


बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गइरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो । मेलामा विविध पक्षहरुको प्रवर्द्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताउनुभयो । प्रतियोगिता मङ्सिर २५ देखि पुसको १७ गतेसम्म सञ्चालन हुनेछ ।


टिकटक प्रतियोगितामा भाग लिनका लागि भाग लिने व्यक्तिको टिकटकमा न्यूनतम पाँच हजार फ्लोअर्स भएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिने व्यक्तिले यहि मङ्सिरको २४ गतेसम्ममा आफ्नो टिकटक आईडि खुलाएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिएको व्यक्तिले मेलासँग सम्बन्धित विषयमा टिकटक बनाउनु पर्ने छ भने टिकटक भिडियो बनाउँदा मेलाको बारेमा जानकारी मूलक हुनुपर्ने छ ।


टिकटक बनाउँदा एकल, समूह वा परिवारमा नाच, लिपसिंङ, एक्टिङ वा अन्य प्रस्तुती गरेर पनि बनाउन सकिनेछ । पोष्ट गर्दा ‘बुटवल मेला २०८१’ वा ‘मेला २०८१’ लेखेर पोष्ट गर्नुपर्नेछ । तर कानुनले निषेध गरेका कुराहरुलाई टिकटकको कन्टेन्ट बनाउन पाइने छैन । प्रतियोगितामा पहिलो दर्ताको आधारमा ५० जनालाई सहभागि गराइने पनि उहाँले जानकारी गराउनुभयो ।


प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपिया नगद पुरस्कार प्रदान गरिने संघकम कार्यसमिति सदस्य तथा श्रब्यदृश्य व्यवस्थापन एवम् प्रतियोगिताकी संयोजक जमुना पौडेलले जानकारी गराउनु भयो । प्रतियोगितामा टिकटकमा लाईक, कमेन्ट, शेयर तथा भ्यूजको आधारमा विजेता छनोट गरिने छ । त्यसका लागि तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको पनि प्रचा प्रसार समन्वयकर्ता पोखरेलले जानकारी गराउनुभयो ।


बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेला गरिँदै छ ।

कमेन्ट गर्नुहोस्