
तिलोत्तमा सिटी,२०८० माघ २९ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १० र १२ का २९ टोल टोलबिकासका ६५ पदाधिकारीहरुलाई संस्था व्यवस्थापन तथा फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ ।नगरपालिकाको वडा नम्बर-१२ स्थित मक्रहरमा रहेको कोटियामाई प्राथमिक बिद्यालयमा जैविक मल बनाउने तालिम दिएको नगरपालिकाका सामाजिक बिकास शाखाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले जानकारी दिइन् ।“टोल बिकास संस्थामा आबद्ध रहेका ६५ जना स्थानिय प्रतिनिधीलाई घरबाट निस्कने फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउन सिकाइएको हो”, उनले भनिन्, “रासायनिक मलको अत्यधिक प्रयोग माटो बिग्रने भएकाले टोलटोलमा प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।” साथै संस्था ब्यबस्थापन तालिमले टोल बिकास परिचालनमा सहयोग पुग्ने उनको आंकलन छ।
सो कार्यक्रमको सन्दर्भमा कार्यक्रम समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले नगरपालिकाभित्रका आम जनतालाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको बताए । नगरपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गर्दै जैविक र प्राङ्गारिक मलको प्रयोग गरि स्वस्थ्य बन्न आग्रह गर्दै यस्ता तालिमको अवसर दिएको र आगामी दिनमा अन्य वडावडामा पुगेर नगरबासीलाई तालिम दिने समेत नगरप्रमुख खाणले जानकारी दिए । उनले संस्था व्यावस्थापन मार्फत टोल बिकास बलियो हुने र आम जनताको लागि समेत सहज तरिकाले कार्यसम्पादन गर्ने समेत बताए ।
टोलबिकासमार्फत वडा वडाका पदाधिकारीहरुमाझ जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तालिमले फोहोर व्यवस्थापन, भान्सा सुधारसंगै नगरबासीहरुको स्वास्थ्यमा समेत सुधार आउने टोलबिकास संस्थाका अध्यक्ष हेमराज पौडेलले बताएका छन्। टोलबिकासको सर्बाङ्गिण बिकास र घर तथा भान्सा बाट निस्किने फोहोरलाई व्यवस्थापन गर्दै टोललाई सफा हराभरा गराउन यस्तो तालिमको आयोजना गरिएको नगरस्तरीय टोल बिकास संस्था संजालका अध्यक्ष हेमराज पौडेलको भनाइ छ ।सहभागीलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले टोल बिकासका प्रतिनिधिका लागि तालिम प्रभावकारी भएको नगरस्तरीय टोल बिकास संस्था संजालका उपाध्यक्ष टोपलाल खनालको भनाइ छ । कार्यक्रमको समुद्घाटनको अवसरमा बोल्दै फोहोरबाट मल बनाउने तालिमले रासयानिक मलको अभाव र सामान्य खेतबारीमा मलको राम्रो प्रबन्ध गर्न सकिने हुँदा यस्तो खालको तालिम प्रभावकारी हुने नगरपालिकाका सामाजिक बिकास शाखाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले बताईन।
२ दिन सम्म चल्ने सो तालिमको अध्यक्षता वडा नम्बर १२ का अध्यक्ष सहदेव थारुले गर्नुभएको थियो।तालिममा संस्था व्यवस्थापन सम्बन्धि तालिम नगरपालिकाका प्रसासन योजना तथा अनुगमन शाखाका प्रमुख माधव पोख्रेलले दिनुहुनेछ भने प्राङ्गारिक मल बनाउने तालिम बरिष्ठ कृषि अधिकृत हरि प्रसाद खनालले प्रशिक्षण दिनुभएको थियो।रासायनिक मलको अभाव भोग्दै आएका किसान र टोलबिकासका प्रतिनिधीहरुलाई टोलटोलमा पुगेर नगरपालिकाले प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएपछि खुसी भएका छन् ।
कमेन्ट गर्नुहोस्