
तिलोत्तमा,२०८० बैशाख २। देशभर चलिरहेको घटना दर्ता सप्ताहको सन्दर्भ पारेर तिलोत्तमा नगरपालिकाले पनि आफ्नो कार्यक्रम घर घरमा पुर्याएको छ। तिलोत्तमा वडा नम्बर ८ बाट अभियान शुरु गरेको नगरपालिकाले यहि बैशाख ३ गते तिलोत्तमा वडा नम्बर २ मा र्याली सहित कार्यक्रम गर्न थालेको छ। सोहू सन्दर्भमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले जन्म मृत्यु बिबाह बसाईं सराई सम्बन्ध बिच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै वडा कार्यालयमा दर्ता गराए पछि आउने झन्झट बाट मुक्त भइने र सबै कार्यमा सहज हुने समेत बताउनुभयो। नगर प्रमुख खाणले वडा नम्बर ८ को सरसफाई तथा हरियाली प्रबर्द्धन कार्यक्रमको १०२ औ शृंखला र व्यक्तिगत घटना दर्ता सप्ताहको समुद्घाटन गर्दै सो कुरा बताउनुभएको हो।
तिलोत्तमा नगरपालिकामा रहेका १७ वडामा घटना दर्ता गर्न सकिने भन्दै अनलाइन मार्फत टोकन लिएरपनि घटना दर्ता सहज रुपले गर्न सकिने उहाँको भनाई छ। नगरप्रमुख खाणले व्यक्तिगत घटना दर्ता बेलैमा गरेमा बिकासको खाका कोर्न तथा बिद्यालय भर्ना, कागजात को समस्या हाल हुने साथै अधिकार प्राप्तिका लागि पनि सहज हुने बताउनुभएको छ। उहाँले हरेक नागरिकको नैसर्गिक अधिकार व्यक्तिगत घटना दर्ता भएकाले अधिकार प्राप्तिका लागि समेत घटना दर्ताले सहयोग पुग्ने बताउनुभएको छ। नगरप्रमुख खाणले बैशाख १ गतेदेखि सप्ताहको रुपमा संचालन भएको यो अभियानमा सबै जोडिन आग्रह समेत गर्नुभयो।
हाल तिलोत्तमा नगरपालिका को पछिल्लो चौमासिक प्रतिबेदन अनुसार नगरपालिका भित्र बस्ने स्थायी बासिन्दाले गराएको जन्मदर्तामा ३७२ जना पुरुष र महिला ३३९ गरि जम्मा ७११ जनाको जन्मदर्ता गरिएको छ भने मृत्यु १४२ जना पुरुष र ११६ जना महिला गरि २५८को मृत्यु भएको छ। त्यस्तै यस चौमासिक ( ४ महिनाको अबधिमा ४५ जनाले सम्बन्धविच्छेद गराएका छन् भने ३९८ जोडीले बिबाह गरेका छन्। नगरभित्र पछिल्लो समय बसाईं सरि आउने दर एकदमै बढेको छ जसमा बसाईं सरि आउने ३२१ घरका १२१२ जना रहेका छन् भने बसाई सरि जाने ७६ घरका २२८ जना रहेका छन्। त्यस्तै तिलोत्तमा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या १० हजार २ सय ४१ जना रहेका छन्।
कमेन्ट गर्नुहोस्