लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संचारदेखि मेयरसम्मको यात्रामा मोहन चापागाईं

IMG

तिलोत्तमा सिटी,बैशाख १० गते २०७९। मानिस बहुआयामिक हुन र व्यवहारमा त्यसको उच्चतम प्रयोग गर्न सके मात्र जिबन उपयोगी बन्न सक्छ।  सायदै सोचेको हुदैन मान्छेले एउटा सामान्य रेडियो कर्मी र एउटा सामान्य पत्रकारले देश र समाजलाई नियाल्ने मात्र हैन हाक्ने समेत काम गर्छ।  आवाजमा उस्तै सामिप्यता, गहन अध्ययन, पृष्ठभूमिको सुक्ष्म अध्यायनले मानिसलाई बैचारिक र ब्यबहारिक ज्ञानको दिशामा अग्र पंक्तिमा उभ्याउछ।  त्यहि खुड्किलोमा उभिएर   संचारदेखि मेयरसम्मको गोरेटोमा छन् रुपन्देहीको तिलोत्तमा नगरमा नेकपा एमालेबाट उम्मेदवार दिन तयार भएका मोहन चापागाईं। 


अन्तत: बिभिन्न खाले आयामहरु बीच रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखको लागि नेकपा एमालेले मोहन चापागाईँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यसो त उपप्रमुखमा भने एमालेले वर्तमान उपप्रमुख समेत रहेकी जिल्ला कमिटी उपाध्यक्ष जगेश्वरदेवी चौधरीलाइै नै चुनावी मैदानमा उभ्याएको छ। नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको शनिबार बसेको सचिवालय बैठकले चापागाईँलाई नगरप्रमुख र चौधरीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। 


२०३० सालमा संचारकर्म मै क्रियाशील बुवा काशीराम चापागाईँ र आमा ज्ञानकुमारी चापागाईँको कोखबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगरमा जन्मिएका मोहन चापागाईं साधारण स्कुले जीवनदेखि नै विद्यार्थीको हकहितको आवाज उठाउँदै अनेरास्ववियुमा आवद्ध भएका थिए। दुर्गादत्त माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्षबाट कम्युनिस्ट राजनीतिक यात्रा सुरू गरेका चापागाईँ १६ वर्षकै उमेरमा २०४६ सालमा अनेरास्ववियु रूपन्देहीको सदस्य भइ काम गरिसकेका थिए। २०४६ सालको आन्दोलनमा सहभागि भएको भन्दै उनलाई प्रहरीले पक्राउ गरि हिरासतमा समेत राखेको थियो। बहुदल आगमनसंगै मोहन चापागाईं अनेरास्ववियुबाट बुटवल बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति समेत बनेका थिए। विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय चापागाईँले विद्यार्थीकालदेखि नै जुझारू, बौद्दिक तथा डायनामिक, लिडरशिप र ब्यबस्थापनमा सहजता ल्याउन सक्ने कार्यकर्ताको पहिचान बनाएका थिए। त्यति मात्र होइन प्रमुख पेशा संचारलाई मानेका चापागाईंँ ३० वर्षदेखि पत्रकारीतामा संलग्न रहँदै आएका छन्।


चापागाईँ नेपाल पत्रकार महासंघ रूपन्देहीको अध्यक्ष र केन्द्रिय सदस्य भइसकेका छन्। दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो रेडियो लुम्बिनीको स्टेशन म्यानेजर तत्पश्चात अध्यक्ष हुँदै नेपालमा सामुदायिक रेडियो हरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ अकोरावका केन्द्रिय अध्यक्ष समेत भइसकेका छन्। पत्रकारिता संगै राजनीतिमा दरिलो बिश्वास कमाएका चापागाईं प्रेस चौतारी नेपालको रूपन्देही अध्यक्ष र केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् भने नेकपा एमाले रूपन्देही जिल्ला कमिटी सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर अध्यक्ष पनि भइसकेका छन्।


नेकपा एकीकरण र विभाजन हुँदाको अवस्थामा पनि नगरभित्रका पार्टी कार्यकर्तालाई कतै लाग्न नदिई समेटेर राख्न सकेको मुख्य जस चापागाईँलाई जाने गरेको छ। उनले त्यति बेला संगठनलाइ झन् बलियो बनाउन वडा टोल टोल र विभिन्न पेशागत संगठनमा समेत पार्टीलाई थप मजबुत बनाउने काम गरे। चापागाईँ हाल नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी इन्चार्ज  छन्। हाल मोफसलको राजधानी बुटवलबाट प्रकाशित सबैभन्दा पुरानो पत्रिका दैनिक लुम्बिनीको अध्यक्ष रहेका चापागाईँलाई अब भने स्थानीय तहमा दुई वर्षसम्म लगातार उत्कृष्ट नगरपालिका बन्न सफल भएको तिलोत्तमा नगरपालिकाको प्रमुख बन्ने बाटो खुल्ला भएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि नगर प्रमुखको उम्मेदवार बन्ने पक्का भएकै अवस्थामा एमालेले चापागाईँको नाम पर्खाईमा राखी बासुदेव घिमिरेलाई नगरप्रमुखको उम्मेदवार बनाएको थियो। यसपटक भने घिमिरेसँगै अन्य दुई जना प्रतिश्पर्धी यज्ञ गैरे र दिनेश फुल्लेलको बिचबाट चापागाईँले नगर प्रमुखको टिकट पाउन सफल भएका हुन्।


पार्टीको निर्णयलाई हृदयंगम गर्ने चापागाईंले सबैको सहयोगले हाल सम्म कुनै स्थानमा पराजित भोग्नु परेको छैन , यही बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा समग्र तिलोत्तमाको सर्बाङ्गिण बिकाशका निम्ति सबैको सहयोग अपरिहार्य रहेको बताउदै तिलोत्तममा नेकपा एमालेको शानदार जित हुनेमा ढुक्क छन्। 


२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका बासुदेव घिमिरेले नगर प्रमुखमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं हालका गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ रामकृष्ण खाणलाई पराजित गरेका थिए। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र जनमुक्ति पार्टी मिलेर चुनाव लड्दा एमाले भने एक्लै चुनावी मैदानमा थियो। त्यस्तो अवस्थामा घिमिरेले खाणलाई झण्डै २ हजार ३ सय मतान्तरले जितेका थिए। मेयरमा घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्दा खाणले १६ हजार २ सय ६४ मत प्राप्त गरेका थिए।उपमेयरमा पनि जागेश्वरदेवी चौधरीले १९ हजार २ सय २४ मत प्राप्त गरि विजयी हुँदा जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन्।नेपाली कांग्रेस र जनमुक्तिको गठबन्धन रहेको तिलोत्तमाका १७ वटा वडामध्ये वडा नंं ९, १०, १६ र १७ गठबन्धनले जितेको थियो भने अरू १३ वटा वडा एमालेले जितेको थियो।


यस पटकको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट रामकृष्ण खाण नै पाँचदलीय गठबन्धनबाट नगर प्रमुखको उम्मेदवार बन्ने पक्का भएको छ।नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका नेता तथा पूर्व मन्त्री घनश्याम भुसालको गृहनगरसँगै नगरपालिकाको ६ वटा वडा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल र बाँकी ११ वटा वडा एमाले केन्द्रिय कमिटी सचिव छविलाल विश्वकर्माको निर्वाचन क्षेत्रभित्र पर्छन्।तीन वटा संघीय निर्वाचन क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिकाका वडा नं १ देखि ६ सम्मका वडा पौडेल निर्वाचित क्षेत्र नं २ मा पर्छ भने १३ र १४ नं वडा भुसाल निर्वाचित भएको निर्वाचन क्षेत्र नं ३ र बाँकी रहेका ९ वटा वडा विश्वकर्मा निर्वाचित भएको क्षेत्र नं १ मा पर्छन्।२०७४ सालको स्थानीय तहको निर्वाचनमा ७१ हजार ७४ मतदाता रहेको तिलोत्तमामा यस पटक भने १४ हजार ६ सय ७३ मतदाता थपिएका छन्। निर्वाचन कार्यालय रूपन्देहीका अनुसार हाल तिलोत्तमा नगरपालिकाको मतदाता संख्या ८५ हजार ७ सय ४७ छ।  


कमेन्ट गर्नुहोस्